बैंकहरुले विस्थापित गर्न थालेको फोनपे नेटवर्क सरकारी स्वामित्वको ‘नमस्ते–पे’ले प्रयोग गर्ने

Advertisement

काठमाडौं । प्राविधिक समस्या र सुरक्षालाई कारण देखाउँदै बाणिज्य बैंकहरुले फोनपे नमस्तेलाई विस्थापित गरी आफ्नै स्विच प्रयोग गर्न थालेको बेला सरकारी स्वामित्वको नमस्ते–पेले भने फोन पे कै प्रणाली प्रयोग गर्ने भएको छ । 

नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको लगानीमा स्थापना भएको नमस्ते पे र फोन–पेबीच यससम्वन्धी बुधबार सम्झौता भएको हो । फोन पेको सिस्टमले गर्दा कारोबारमा धेरै प्राविधिक समस्या आएको र सुरक्षामा पनि प्रश्न उठेको भन्दै एनएमबी बैंकले फोन–पेको प्रयोग करिव बन्द गरेर आफ्नै सिस्टम विकास गरेको छ भने एनआईसी एशिया बैंक, नविल बैंक र ग्लोबल आईएमई बैंकले पनि आफ्नै स्विच खरीद अघि बढाएका छन् । 

Advertisement

एनआईसी एशिया बैंकका एक जना डेपुटी सीईओले विभिन्न समस्याका कारण आफूहरु ‘फोन पे’ स्विचलाई विस्थापित गरेर आफ्नै स्विच राख्न लागेको कर्पोरेट नेपाललाई दुई साताअघि बताएका थिए । उनले स्विच खरीद प्रक्रियामा रहेको बताउँदै खरीदपछि आफ्नै प्रणालीमार्फ कारोबार हुने बताएका थिए । 

भुक्तानी प्रणालीमा ठूलो हिस्सा ओगट्दै आएको फोन पे मार्फत अहिले अधिकांश वित्तीय सेवा प्रदायकहरुले वित्तीय कारोबार सुविधा दिँदै आएको छन् । मोवाइल फोन नम्बरका आधारमा रकम भुक्तानी गर्न सकिने यो सिस्टमप्रति पछिल्लो समयमा आशंका र प्रश्न उठ्न थालेपछि बैंकहरुले विकल्पको खोजी सुरु गरेका हुन् । 

नमस्ते पेका सीईओ नवीन पोखरेलले फोनपेको प्लेटफर्म प्रयोग गर्दा आफूहरुलाई समस्या नहुने बताए । उनले पोन पे का १२ लाख मर्चेन्ट ग्राहकहरुबाट लाभ लिन सकियोस भनेर आफूहरुले सम्झौता गरेको बताए । 

पोखरेलले आफूहरुको पनि आफ्नै स्विच रहेको बताउँदै फोन पे का मर्चेन्ट ग्राहक फोन पे, स्मार्ट पे का नेटवर्कबाट पनि कारोबार गर्न सकियोस् भनेर सम्झौता गरेको हो भन्दै फोन पे को समस्याले आफूहरुलाई समस्या नपर्ने बताए । 

फोन पे का सीईओ दिवस सापकोटाले फोन पे को प्रणालीमा समस्या रहेको र सुरक्षा जोखिम रहेको भन्ने समाचारहरुमा सत्यता नरहेको दावी गरे । उनले एनएमबी बैंकले फोन पे को सिस्टम बन्द गरेको नभई आफ्नो मोवाइल बैंकिङ सिस्टम मात्रै फेरेको बताए । 

एनआईसी एशिया बैंक, नविल बैंक, ग्लोबल आईएमई बैंकले फोन पे को सट्टा आफ्नै स्विच प्रयोग गर्न लागेको कुरा भने सापकोटाले अस्वीकार गरेनन् । उनले कारोबारमा समस्या आउने भनेको फोन पे को कारण नभई मोवाइल बैंकिङको कारण हो भने । 

सापकोटाले भने, ‘फोन पे को सिस्टमबारे जुन कुराहरु आइरहेको छ, त्यो गलत स्टेटमेन्ट गइरहेको छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने मोवाइल बैंकिङ सिस्टम भनेको फरक कुरा हो । फोन पे को नेटवर्क र फोन पेसँगको पार्टनरसिप, फोन पेबाट हुने कारोबार, फोन पेको स्विच अर्थात इन्फ्राइट्रक्चर भनेको भनेको छुट्टै कुरा हो । मोवाइल बैंकिङ सेवा दिने कुरा बैंकको आफ्नो निर्णयको कुरा हो । फोन पेले कुनै पनि कुराले प्रभाव पार्ने कुरा हुँदैन् ।’ 

ग्लोबल आईएमई, एनएमबीलगायतका बैंकले फोन पे छोडिनसकेको र उनीहरुले अझै पनि कारोबार गरिरहेको उनको भनाई छ । सोपकोटाले फोन पे को सेवामा सेक्युरिटि ल्याप्स भएर अहिलेसम्म विश्वसनियतामा कुनै प्रश्न नउठेको दावी गर्दै सत प्रतिशत पूर्ण भन्ने कुरा भने कुनै पनि सिस्टममा नहुने बताए । सोपकोटाले  फेसबुक जस्ता सामाजिक सञ्जालमा पनि कहिले काहीं समस्या आउने गरेको उदाहरण दिए ।

Advertisement

Advertisement