दुई अर्ब लगानीमा नेपालमै ‘प्राइम’ टायल्सको उत्पादन सुरु, ठूलो आयातमा कमी आउने

Advertisement

काठमाडौं । दुई अर्ब रुपियाँ लगानीमा रौतहटमा टायल उद्योग सञ्चालनमा आएको छ । प्राइम सेरामिक्स प्रा.लि.ले प्राइम ब्राण्डमा आज बिहीबारदेखि टायल बिक्री वितरण सुरु गरेको हो । 

प्राइम टायल्सबारे कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दियो । जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी गरेका आशिष गर्ग र उनको टिमले यो उद्योग निर्माण गरी उत्पादन सुरु गरेको हो । उनको सीएमएस ग्रुपले यसअघि आफै टायल आयात गर्दैै आएकोमा अहिले भने आफैले उद्योग खोलेर नेपालमै उत्पादन सुरु गरेको हो । 

Advertisement

उद्योगमा इटालियन बहुर्राष्ट्रिय कम्पनी साक्मीको प्रविधिहरुमार्फत विभिन्न डिजाइनका टायलहरु उत्पादन हुने बताउँदै कम्पनीका अध्यक्ष गर्गले टायलमा उपभोक्ताको इच्छाअनुसारका तस्वीरहरु समेत प्रिन्ट गर्न सकिने बताए । नवीन र आकर्षक डिजाइनयुक्त प्राइम टायल्सहरु गुणस्तरीय पनि रहेको उनले बताए । 

गर्गले नेपालमा बार्षिक १५ अर्ब रुपियाँको टायलहरु आयात हुने गरेको बताउँदै त्यसमध्ये ९९ प्रतिशतभन्दा बढी इण्डियनबाट आयात हुने गरेको बताए । प्राइम टायल्सले आयातको एक चौथाई कम गर्नुका साथै निर्यातको समेत योजना बनाएको बताउँदै उनले आयातितभन्दा आफूहरुको टायल २० प्रतिशतसम्म सस्तो हुने बताए । 

उद्योगमा कच्च पदार्थको रुपमा प्रयोग हुने माटोसहित खनिजहरु ५० प्रतिशत स्वदेशी प्रयोग हुने पनि जनाइएको छ । गर्गले उद्योगमा अझै पनि लगानी थप हुने जानकारी पनि दिए । उनले स्वदेशी उद्योग भएकाले उपभोक्ताले चाहेको बेला चाहेको डिजाइनमा माग गर्नसक्ने बताए । 

तीन सय जनालाई रोजगारी दिएको यो उद्योग रौतहटको वृन्दाबन नगरपालिका वडा नं. ६ मा १० विघा क्षेत्रफलमा फैलिएको छ । उत्पादित टायलहरु गुणस्तर परीक्षणपछि मात्रै बजारमा जाने पनि उद्योग सञ्चालकहरुको भनाई छ । 

घर, अफिस, पूर्वाधार आयोजना, सार्वजनिक स्थलमा प्रयोग गर्न सकिने यस्ता टाइलहरु २५० वटा डिजाइनमा उत्पादन भइरहेको जनाइएको छ । उद्योगले दैनिक डेढ लाख वर्गफिट टायल उत्पादन गर्न सक्छ । 

Advertisement

Advertisement