कर्मचारीको दशैं पेस्की र तलब दिँदा अर्थलाई ठूलो झड्का, सरकारी खाता ३६ अर्बले ऋणात्मक

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न निकायमा काम गर्ने सरकारी कर्मचारीको तलब भुक्तानी गरेको छ । मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, करारका कर्मचारीहरुको आइतबार तलब तथा पेस्की भुक्तानी दिएको हो ।

मन्त्रालयले एक महिनाको तलब बराबरको दशैं पेस्की र तलब भुक्तानी दिएको छ भने शिक्षकको हकमा भने तीन महिनाको तलब र दशैं​ पेस्की भुक्तानी दिएको छ ।

Advertisement

यसरी तलब भुक्तानी दिँदा सरकारी कोष दुई महिना २१ दिनमा ३५ अर्ब ८७ करोड ऋणात्मक भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार उक्त अवधिमा सरकारले दुई खर्ब ३२ अर्ब खर्च गरेको छ । यस्तै प्राप्तितर्फ भने एक खर्ब ९६ अर्ब मात्रै छ । अभाव रकम सरकारले चर्को ब्याजदरमा आन्तरिक ऋण उठाएर काम चलाएको छ । 
 
यसअघि सेवा निवृत्त भएका कर्मचारीका लागि मात्रै मन्त्रालयले ११ अर्ब भुक्तानी दिएको थियो । रकम अभावको कारणले अर्थले निर्माण व्यवसायी, कोरोना बीमाको दायित्व लगायत भुक्तानी दिन भने अस्वीकार गरेको छ । 

मन्त्रालयले दशैं पेस्की घटस्थापनाभन्दा १५ दिन अघिबाट भुक्तानी दिन पाउने नियम छ । सोहीबमोजिम तलव तथा दशैं पेस्की भुक्तानी दिएको हो ।  मन्त्रालयले आइतबार २६ अर्ब रुपियाँ चालु शीर्षकमा मात्रै खर्च गरेको हो । 

नगद व्यवस्थापन गर्न कठिन बनेको भन्दै अन्य मन्त्रालयहरुलाई सिमामा रहेर भुक्तानी दिन अर्थ मन्त्री प्रकाशशरण महतले निर्देशन दिइसकेका छन्। उनले असोज ५ गते निर्णय गर्दै त्रैमासमा विनियोजन गरिएको रकम भन्दा धेरै भुक्तानी नदिन महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएका हुन्।

सरकारले पहिलो पाँच महिनामै ९० अर्ब आन्तरिक ऋण उठाएर खर्चको जोहो गर्न लागेको छ । आर्थिक मन्दीसँगै उद्योग व्यवसाय र बजारमा खरीद बिक्रीमा कमी आउँदा राजश्व संकलनमा भारी गिरावट भएको छ भने सरकारको फजुल खर्च भने घट्न सकेको छैन् । 

Advertisement

Advertisement