दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु, चार महिनाभित्र पेट्रोलियम पदार्थ निकालिने

Advertisement

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु भएको छ । पेट्रोलियम पदार्थ उत्खननको लागि लामो समयदेखि चिनियाँ विशेषज्ञ प्राविधिकहरुले अन्वेषणको काम गर्दै आएका थिए । 

दैलेखको भैरबी गाउँपालिकामा पेट्रोलियम पदार्थ उत्खननको काम अगाडी बढेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले अहिले नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको बताउँदै त्यसमध्ये भैरबीमा उत्खननको काम अगाडी बढेको बताए । 

Advertisement

उनले भने, ‘हामीले भर्खरै स्थानीयबाट जग्गा सरकारको नाममा लियौं । अब उत्खननको काम सुरु हुन्छ । पेट्रोलियम पदार्थ उत्खनन गर्न चार किलोमिटर जति ‘ड्रिल’ गर्नुपर्ने हुन्छ ।’ 

नेपाल र चीनबीच ‘जीटूजी’ (सरकार–सरकारबीच)अन्तर्गत उत्खननको काम भएको भन्दै भुसालले चिनियाँ प्राविधिकहरुले चार महिनामा उत्खननको काम पूरा हुने र त्यसपछि पेट्रोलियम पदार्थ निकाल्ने काम सुरु गर्न सकिने बताएको जानकारी दिए । 

आफू प्रमुख जिल्ला अधिकारी भएर आएपछि रोक्किएको जग्गा अधिग्रहणको काम स्थानीयहरुसँग सहकार्य गरी सल्टाएको बताउँदै उनले स्थानीयस्तरमा सबै विवाद समाधान गरेर ‘ड्रिल’ गर्ने काम सुरु भएको बताए । भुसालले भने, ‘म यहाँ आएको एक महिना जति भयो । एक वर्षदेखि विवाद रहेछ जग्गाको । त्यो काम सम्पन्न गरेर उत्खननको काम अगाडि बढाएको हो । यो काम नेपालको लागि महत्वपूर्ण र गर्वको कुरा पनि हो । नेपालको संवृद्धि र विकासको लागि पनि यो उत्खनन् सफल हुनु जरुरी छ ।’ 

उत्खननका लागि चीनबाट निकै विज्ञ टोली आएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी भुसालले ११ किलोमिटर तल ‘ड्रिल’ गरेर पेट्रोलियम पदार्थ निकालेको, धेरै देशमा गएर काम गरेको टोली नेपाल आएको बताउँदै उनीहरुले काम सफल गर्नेमा आफू आशावादी रहेको बताए । 

 

Advertisement