देशकै ठूलो म्याग्नेसाइट उद्योग २०५५ सालदेखि बन्द

Advertisement

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–९ लाकुरीडाँडास्थित राष्ट्रिय गौरवको यो उद्योग बन्द हुँदा प्रत्येक्ष,अप्रत्येक्ष रुपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको नामबाट उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक तीनदेखि चार हजार रुपियाँसम्म कमाउने गरेको भीमेश्वर नगरपालिका –९ खरिढुङ्गाका राम श्रेष्ठले बताए ।

२०४६ सालदेखि ठेकेदारको रुपमा काम थालेको उनले उद्योग सञ्चालनको समय खरिढुङ्गा क्षेत्रमा दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका नागरिकले रोजगारी पाएको बताए । तर २०५५ सालदेखि उद्योग बन्द रहेका कारण नागरिको रोजगारी गुम्नुका साथै राज्यको लगानी खण्डहरमा परिणत भएको छ ।

Advertisement

नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट बिस्तृत अन्वेषणको आधारमा साढे दुई वर्गकिलोमिटरमा फैलिएको खानीमा १८ करोड मेट्रिक टन म्याग्नेसाइट र तीन लाख मेट्रिक टन खरी भण्डारण रहेको प्रमाणित भएको थियो । यहाँ उच्च कोटीको म्याग्नेसाईट मात्रै प्रयोग गरे तापनि दुई सय बर्षभन्दा बढी समयसम्मको लागि डीबीएम डेड बन्र्ट म्याग्नेसाइट उत्पादन गर्न पुग्छ ।

जर्मन सरकारको सहयोगमा सम्भाव्यता अध्ययन गरि उद्योग स्थापनाका लागि २०३० सालमा सिफारिस भए बमोजिम २०३५ साल बैशाख १४ गते कम्पनी ऐन २०२१ अन्तर्गत नेपाल सरकारको ५० प्रतिशत र उडिसा इण्ड्रष्ट्रिज लिमिटेड भारतको ५० प्रतिशत शेयर रहने गरी संयुक्त लगानी संझौता बमोजिम नेपाल ओरिण्ड म्याग्नेसाईट प्रालिको नामबाट उद्योगको स्थापना भएको थियो ।

गोरखापत्र दैनिकबाट ।

Advertisement