सुख्खा बन्दरगाहका ३९१ कन्टेनर सामान ६० दिनभित्र जाँचपास सक्न अल्टिमेटम, नगरे लिलाम

Advertisement

काठमाडौं । सुख्खा बन्दरगाह भन्सार कार्यालयले ३९१ कन्टेनर सामान जाँचपास गर्न अल्टिमेटम दिएको छ । पाँच वर्ष पूरा हुन लाग्दा पनि सामान जाँचपास हुन नसकेपछि कार्यालयले अन्तिम मौका दिएको हो ।

कार्यालयले यही गएको मंसिर १० गते सूचना जारी गर्दै ६० दिनभित्र सामान जाँचपास गर्न आग्रह गरेको छ । भन्सार कानुनबमोजिम भन्सार र्याडमा आएका सामान ६० दिनभित्र जाँचपास नगरे लिलामी गर्ने चेतावनी दिइएको छ । 

Advertisement

चार वर्षसम्म पनि जाँचपास नभएपछि कारवाहीमा उत्रिनुपरेको कार्यालयको भनाई छ । यो ६० दिनको समय अन्तिम भएको कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले बताए । उनले भने, ‘मैले कार्यालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको छ । पाँच वर्षदेखि भन्सार र्याडमा रोकिएको सामानको लिस्टिङ गरी समय दिएका छौं । समयभित्र जाँचपास नगराए लिलामी प्रक्रिया अघि बढ्नेछ ।’

कन्टेनरमा के के सामग्री रहेमा छन् ? भौतिक रुपमै परीक्षण गर्नुपर्ने मैनालीको भनाई छ । र्याड सञ्चालनको जिम्मा क्रिस्टन भ्यालीले लिएको छ । सो कम्पनीले कार्यालयलाई समयमै विवरण नबुझाउँदा कन्टेनर थुप्रिन पुगेको उनले बताए । 

कम्पनीले कन्टेनर कहिले आयो ? कति सामान आयो ? सो कुराको विवरण राख्ने गरेको छ । र्याडबाट कहिले कन्टेनर हराउने, कहिले सामान नै हराउने गरेको छ । यो विषयमा थप अनुसन्धान गर्न कार्यालयले अध्ययन समिति समेत गठन गरेको छ ।

हराएको भनिएका सामानको मात्रा चेकजाँच गरी सो सामानमा लाग्ने राजश्व हिसाब गरी कम्पनीबाटै सोधभर्ना गराउने तयारी कार्यालयले गरेको छ ।

जाँचपास हुन बाँकी कन्टेनरमा गाडी, खाद्य सामग्री, भान्सामा प्रयोग हुने सामान, हार्डवयर सामग्री, लत्ता कपडा, औषधि, वाइन आदि छन् । यी सामान आयातकर्ता कम्पनीमा पारामाउन्ट मोटर प्रा.लि., किशोर गियर प्रा.लि., कन्टिनेन्टल इन्टरप्राइजेज प्रा.लि.लगायत छन्।  

Advertisement

Advertisement