मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

Advertisement

म्याग्दी । मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा आज वर्षा र हिमपात भएको छ । 

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो । यो याममा पहिलोपटक हिमपात भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिए ।  

Advertisement

“यो वर्ष याममै हिउँ परेकाले किसान खुसी भएका छन्,” उनले भने, “हिउँ परेर जमिन भिजाएको र वातावरणलाई सन्तुलित बनाएको छ ।” असोज दोस्रो सातापछि आज बिहानदेखि वर्षासँगै हिउँ पर्न थालेको हो । 

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँच इञ्चसम्म हिउँ जमेको छ । निरन्तर हिउँ परिरहेको छ । हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुने भएकाले कृषक खुसी भएका हुन् । 

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित भएको बताए । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङ्ग्रालाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ । 

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाँडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरु हिउँले सेताम्मे भएको र चिसो बढेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । रासस

Advertisement

Advertisement