काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले तिहारको अवसरमा ग्राहकसँग चर्को शुल्न नलिएको दावी गरेको छ ।
पठाआले बुधबार विज्ञप्ति निकालेर चर्को शुल्क नलिए पनि सो अवसरमा ‘सर्ज चार्ज’ भने लागेको हुनसक्ने तर्क गरेको छ ।
चाडपर्वको अवसरमा केही राइड सेयरिङ कम्पनीले चर्को शुल्क लिएको गुनासोहरु आएपछि पठाओले प्रतिरक्षा गरेको हो ।
कम्पनीको मूल्य संरचनामा कुनै पनि परिवर्तन नगरेको बताउँदै पठाओले यद्यपि, कहिलेकाँही माग र आपूर्तिको सन्तुलन मिलाउन ‘सर्ज चार्ज’ लाग्ने गरेको हुन्छ भनेको छ । त्यो बाहेकको अवस्थामा मूल्य संरचनामा कुनै परिवर्तन नआएको उसको भनाई छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै स्थानमा राइडर वा ट्याक्सी चालकको संख्या कम भएको समयमा सफ्टवेयरमार्फत नै स्वचालित रूपमा मूल्य बढ्छ, जसलाई हामी ‘सर्ज चार्ज’ भन्छौँ । ‘सर्ज चार्ज’ लागू गर्नुको उद्देश्य भनेको माग र आपूर्तिको सन्तुलन कायम राख्दै दिन–रात नभनी ग्राहकहरूलाई समयमै गन्तव्यमा पुर्याउने राइडरहरूको मनोबल उच्च राख्नु हो । सर्ज चार्ज एक अन्तर्राष्ट्रिय अभ्यास हो, जुन माग र आपूर्तिको सन्तुलन मिलाउन लागू गरिन्छ । पठाओले विगत ६ वर्षदेखि नै यो गर्दै आएको छ, जसमा अन्तर्राष्ट्रिय अभ्यासमा हुनेभन्दा निकै न्यूनतम स्तरमा राख्दै आएको छ ।’
राइडरहरूको आम्दानीलाई प्रोत्साहन गर्न एक प्रतिशतको कमिसन अफरका साथमा कमिसन दर घटाउँदै आएको बताउँदै पठाओले तिहारको उपलक्ष्यमा ग्राहकहरूलाई थप सहज होस् भन्ने उद्देश्यले प्रोमो कोडहरू उपलब्ध गराएको र यो सुविधा अन्य सामान्य दिनहरूमा पनि निरन्तर रूपमा लागू गरिने बताएको छ ।