चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरू रहेका छन् ।
हायसमा सवार गोर्खा आरुघाट गाँउपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव ३५ वर्षको पुरुषको मृत्यु भएको प्रनाउ रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको निधारमा चोट छ । बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर १३ प्रगती टोल बस्ने वर्ष १९ को मो.साकिर मिँयाको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मिँयाको दुबै खुट्टामा चोट छ ।
दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय चितवनमा हरेक दिन जसो दुर्घटना भइ रहेको छ । यो पछिल्लो दुर्घटना के कारणले भयो भन्ने बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।