काठमाडौं । लाङटाङ लेरुङ हिमालको सफल आरोहण गरी फर्किने क्रममा सोलो अल्पाइनिस्ट तथा स्लोभाकियाका एक नागरिको मृत्यु भएको छ ।
उक्त हिमालको आरोहण गर्न एक स्लोभाकिया र दुई चेक रिपल्बिकका नागरिकले फोर्टिन समिट्स एक्स्पडिशन कम्पनीमार्फत पर्यटन विभागबाट आरोहण अनुमति लिएर आरोहणका लागि लाङटाङ लेरुङको आधार शिविर पुगेका थिए ।
तीन जनामध्ये एक जना चेक रिपल्बिकका ओन्द्रेज माक्लोभेस्कले भने आरोहण रद्द गरे र आधार शिविरमा नै बसेका थिए भने ओन्द्रेज हुसेरका र मारेक होलेसेक भने आरोहण गर्न गएका थिए । उनीहरु सफल आरोहण गरेको र फर्किने क्रममा एक जनाको भने दुर्घटनामा परेको फोर्टिन समिट्सका अध्यक्ष सुविन ठकुरीले जानकारी दिए ।
उनीहरुले चारदेखि पाँच दिनअघि सो हिमाल आरोहण गरेका थिए । आरोहण गरी आधार शिविर फकिने क्रममा ओन्द्रेज हुसेरका चाहिँ अत्यन्त गहिरो क्रभ्यास (खाँच)मा खसेर बेपत्ता भएका थिए । बेपत्ता भएका ओन्द्रेज हुसेरकाको शव फेला परेपछि आज (बिहीबार) काठमाडौं ल्याएको ठकुरीले बताए ।
उनीहरु दुवैले लाङटाङ लेरुङको पूर्वतर्फबाट आरोहण गरेका थिए । उनीहरु ‘सोलो अल्पाइनिस्ट’ हुन् । ठकुरीका अनुसार उनीहरु सोलो क्लाइबर्स (एक्लै आरोहण गर्ने) हुन् । विश्व बजारमा एक्स्ट्रिम क्लाइबर्सको रुपमा पनि उनीहरु चिनिन्छन् । हुसेरका अत्यन्त गहिरो खाँचेमा खसेर बेपत्ता भएको कुरा होलेसेकले आधार शिविरमा खबर गरेका थिए ।
होलेसेकले बेपत्ता भएका साथी क्रभ्यासबाट निकाल्न धेरै प्रयास गरेको र तर सफल नभएको आधार शिविरमा जानकारी गराएका थिए । ‘उनलाई ‘लङ लाइन रेस्कु’ गरेर आधार शिविर ल्याउन प्रयास गरेका थियौं तर मौसम खराब हुँदा सफल हुन् सकेनौं’ ठकुरीले सुनाए ।
उनले थपे, ‘मारेक होलेसेक जसोतसो आधार शिविर आइपुगे । उनी मानसिक विकार भएको जस्तो अवस्थामा आइपुगेका थिए । हामीले उनलाई काठमाडौं ल्याएर उपचार गरेपछि अहिले अवस्था ठिक छ । बेपत्ता भएका अर्का आरोहीलाई खोज्न जान दुई दिन सकिएन् । किनभने मौसम निकै खराब थियो । बेपत्ता भएको मान्छेलाई खोज्न सहज भएन । हिजो पनि उद्दारका लागि माउन्टेन गाइडको टिम (नेपाल माउन्टेन गाइड एशोसियनसम्वद्ध व्यवसायिक गाइड) गएको थियो । तीन–चार घण्टा खोजी गर्दा पनि नभेटाएपछि मारेक होलेसेकलाई पुन बेपत्ता भएको ठाउँको बारेमा बुझेर आज बिहान ७ बजे त्यो टिम फेरि गएपछि १० बजे तिर करिब ४३ मिटर जति तल पुरिएको अवस्थामा शव निकाल्न सफल भयौं । आज दिउँसो १ बजे उनको शव काठमाडौं ल्याएका छौं ।’
हुसेरकाको उद्दारका लागि धेरै विदेशी माउन्टेन गाइडले प्रयास गर्छु भने पनि आफूले भने नेपाली गाइडहरु नै अनुभवी र दक्ष रहेको बताएर उनीहरुको प्रस्ताव अस्वीकार गरेको ठकुरीले बताए । यस उद्दार कार्यमा नेपालीहरु नै सफल हुन्छन् भन्ने विश्वास आफूलाई रहेको उनले बताए । उद्दार मिसनमा नेपालीहरु नै गएको र सफल भएको ठकुरीको भनाई छ ।
उनले भने, ‘अत्यन्त गहिरो क्रभ्यासमा खसेको ओन्द्रेज हुसेरकाको शव निकाल्न हाम्रो नेपाली माउन्टेन गाइडको टिम लिडर पेम्बा ग्याल्जे शेर्पा, प्रकाश शेर्पा, छिरिङ शेर्पा, कुसाङ छिरी शेर्पा, एटलिच्यूड एयरका वरिष्ठ कप्तान विवेक खड्काको ठूलो भूमिका छ । शब भेटाउन सफल भयो । यो कुरामा खुशी लागेको छ । तर उनको निधन भयो । दुःख पनि लागेको
छ । बेपत्ता भएको विदेशी आरोही मेरो साथी पनि हो ।’