ब्याजदर घटेसँगै एकै महिनामा ४५ हजार घरजग्गा खरीद–बिक्री, सरकारलाई राजश्व पनि बढ्यो

Advertisement

काठमाडौं । गएको पुस महिनामा देशभर घरजग्गा खरीद–बिक्रीको ४५ हजार कारोबार भएको छ । गएको मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबार बढेको हो ।  

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार पुस मा ४५ हजार २७७ वटा लिखत पारित भएको छ । मंसिरमा ४१ हजार ८५१ वटा लिखत पारित भएको थियो । 

Advertisement

मंसिरको तुलनामा पुसमा कारोबार र राजश्व संकलनमा समेत सुधार भएको छ । जग्गा कारोबारबाट पुसमा तीन अर्ब २० करोड रुपियाँ बराबरको राजश्व संकलन भएको छ । गएको मंसिरमा दुई अर्ब ८६ करोड राजश्व संकलन भएको थियो । 

तरलता संकुचनको समस्या कम भएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले घरजग्गा कारोबार विस्तारै बढ्न थालेको हो । घरजग्गाको मूल्यमा अस्वाभाविक वृद्धि भएको भन्दै राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाई गरेपछि घरजग्गाको कारोबार केही बर्ष सुस्ताएको थियो ।   

तर अहिले राजश्व संकलनमा नै सरकारलाई ठूलो धक्का लागेपछि सरकारले यसको कारोबार बढाउने नीति लिएको हो । सरकारले घरजग्गा कारोबारलाई सहज हुनेगरी गरेको कित्ताकाट फुकुवा घट्दो ब्याजदरले कारोबारलाई बढाउने संकेत गरेको छ । 

पुसमा उपत्यकाको मालपोत कार्यालय भक्तपुरले सबैभन्दा धेरै ८७७ वटा घरजग्गाको लिखत पारित गरेको छ । यस्तै, मालपोत कार्यालय चावहिल, काठमाडौंले ४०८ वटा, मालपोत कार्यालय कलंकीले ६५० वटा, मालपोत कार्यालय टोखाले १३७ वटा लिखत पारित गरेको छ । 

Advertisement