राष्ट्रिय गौरवका आयोजनाको प्रमुख सरुवा गरेको छैन्, बरु सरुवा माग्दा रोकेको छुः उर्जामन्त्री

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । 

राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । 

Advertisement

सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने कुनै मनशाय नरहेको उनले बताए । बस्नेतले विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको योजना नभएको मन्त्री बस्नेतको जिकिर छ । उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको दावी गरे । 

मन्त्री बस्नेतले भने, ‘अब राष्ट्रिय गौरवको आयोजनाहरु भनिसकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानूनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरुको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ । यसलाई समग्रमा नै फेरि एकपटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ । र त्यो ढंगले छलफल हुनु सान्दर्भिक नै हुन्छ भन्ने मलाई लाग्दछ । जे इन्फरमेशन आइराखेको छ, त्यो कुरा सही होइन ।’ 

उनले थपे, ‘अझ हामी त साथीहरुलाई ६ महिना त्यही बसेर काम गरिदिनुस भनेर अनुरोध गरिराखेका छौं । दुई वर्ष पुगेका वा नपुगेर पनि हामी कहाँ सरुवा माग्न आईरहेका साथीहरुलाई पनि अरु ६ महिना बसेर काम गरिदिनुस्न हो भनेर हामीले अनुरोध नै गरिरहेका छौं । त्यसकारण अहिले हाम्रो स्प्रिरिट कम्तिमा २ वर्षभन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरुलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन । र, विशेष परिस्थिति नभइकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन ।’

बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरियाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराइन् । 

उनले भनिन्, ‘राष्ट्रिय गौरवको आयोजना भनिएको छ । वर्षौंसम्म अलपत्र पारिएको छ । वर्र्षौसम्म राष्ट्रिय गौरवको आयोजना बन्दैन । यसलाई बढी महत्व दिएर समयमै सक्ने काम होस् भन्न मैले चाहेँ । अर्को राष्ट्रिय गौरवको  आयोजना भनेर घोषणा गरिएको छ । अनि शुरु नै हुँदैन । जस्तो राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको पश्चिम सेती जलविद्युत आयोजना ३० वर्षदेखि शुरु भएको छैन । राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्ने अनि शुरु नै नगर्ने । यो अवस्था नआओस् ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे । 

सांसद आछामीले भने, ‘देशको समृद्धिसँग अन्तरबिरोधीजस्तो महशुस हुन्छ । लागत बढिराखेको छ । खेती गर्ने युवा विदेश पलायन भईराखेका छन । जमिन टुक्रिराखेको छ । यता, राष्ट्रिय गौरवको आयोजनाहरुको अवधि लम्बिराखेको छ भनेपछि यसले विकास गति लिन्छ कि लिन्न ? भन्दाखेरी यो जे हामीले दिगो विकास लक्ष्य हासिल गर्ने भनेका छौं । राष्ट्रलाई समृद्ध बनाउने भनिराखेका छौं । यो चाहीँ चुनौतिपूर्ण छ जस्तो लाग्छ मलाई । अब यी आयोजनाहरु चाँडै सम्पन्न गर्नका लागि स्रोत, साधनको परिचालनमा ध्यान दिनुपर्छ । जनशक्ति पनि त्यही केन्द्रित हुनुप¥यो नि । राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट केन्द्रित गर्ने र त्यसलाई अघि बढाउने कुरामा सरकार गम्भिर हुनुपर्छ । र भइरहेको जस्तो पनि लागेको छ ।’

Advertisement

Advertisement