द्रुतमार्गको लागत नबढेको प्रधान सेनापतिको दावी, तोकिएकै मितिमा सम्पन्न हुने जवाफ

Advertisement

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई द्रुतमार्गको लागत हालसम्म नबढेको दावी गरेका छन् । 

शुक्रवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताउँदै अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए । 

Advertisement

फास्ट ट्रयाक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको शर्माको भनाई छ । उनले सो प्रचारमा सत्यता नभएको बताउँदै हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको बताए । 

तोकिएकै बजेटभित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै शर्माले निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए । उनले भने ‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । नेपालमा हजुर, हामी दाजुभाई नै हौँ । केही लाज लाग्दैन । सक्ने, नसक्ने भन्नमा । सकिन्छ । तर एकदम सिँगारेर, फास्ट ट्रयाक भनेर युरोपको सडकजस्तो नगरे पनि हजुरहरुलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम (महेन्द्र) राजमार्गसम्म पुर्याउन पाएँ भने हजुरहरुले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको ।’ 

शर्माले थपे, ‘त्यसै भएर पुल र टनेललाई विशेष महत्व दिएको हो । अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रुपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यही हो । अहिलेसम्म बजेटभित्रै काम गर्न हामी सफल भएका छौँ । त्यो पनि कट्दैन । पाँच वर्ष अगाडीको योजनामा अहिलेसम्म ठेक्का लाग्दाखेरी पनि हामीले कसरी मिलायौँ होला ? त्यो कुरा विचार गर्नुपर्छ । यो यस्तो योजनामा कहिल्यै पनि हुँदैन । बढ्दै गएको भनिन्छ । बढेको छैन । कहाँ बढ्नु ? त्यो बेलाको योजना अनुरुपको बजेटभित्रै छौँ हामी । अझ बाँकी छ पैसा । त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स् छ भन्न खोजेको । लागत बढेको छैन । कुनैपनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौँ ।’

प्रधान सेनापति शर्माले काठमाडौं–तराई द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिए । 

Advertisement