आठ बर्षपछि चीनसँग भएको पारबहन सम्झौता कार्यान्वयन, पहिलो निर्यात जापान
File Photo

Advertisement

काठमाडौं । चीनसँग २०७२ चैतमा भएको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । नेपाल–चीन पारवाहन सम्झौता गरेर ठूलो उपलब्धी भएको भनिए पनि कार्यान्वयन नभएको बताउँदै आएको बेला सम्झौताअनुसार पहिलो निर्यात सुरु भएको हो । 

नेपालले चीनसँग पारवाहन सम्झौतामा यातायात तथा पारवहन  प्रोटोकलमा हस्ताक्षर गरे पनि सुविधा लिन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । तर सम्झौताको आठ बर्षपछि आज बिहीवार पहिलो निर्यातको शुभारम्भ भएको छ । 

Advertisement

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले संयुक्त रुपमा शुरुवात गरे । उनीहरुले नेपालबाट चीन हुँदै तेस्रो मुलुक जापानमा पठाउन लागिएको सामानको रिवन काटेर शुभारम्भ गरे । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरु निर्यात गर्ने गरिएको थियो । 

तर, अब चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्न सामुन्द्रिक किनारसम्म पहुँच पाएको छ । नेपालको अहिलेसम्म भारतीय भूमि प्रयोग नगरी समुन्द्रसम्म पहुँच थिएन तर अब चीनसँगको पारवहन सम्झौता कार्यान्वयन आएसँगै नेपालले भारतको समुन्द्रिक पहुँच कुरिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ । 

तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा भारतीय परनिर्भरता कम गर्न उत्तरी छिमेकी चीनसँग पारवाहन सम्झौता तत्कालिन सरकारले गरेको थियो । चीन हुँदै नेपालले थप सामुन्द्रिक पहुँच हुँदा व्यापारिक क्षेत्रले नयाँ फड्को मार्ने अपेक्षा साकार हुने अवस्था आएको छ । 

निर्यात शुभारम्भ कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनसँगै तेस्रो मुलुकसँगको व्यापारको बाटो खुला भएको बताए । उनले सम्झौता कार्यान्वयको लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको निर्यात, आयात मन्त्रालयको गहन भूमिका रहेको बताए । 

सोङले नेपाल चीनको पुरानो सम्बन्ध रहेको भन्दै व्यापार तथा विकास निर्माणको क्षेत्रमा सहकार्य गर्दै आएको बताए । उनले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले समुन्द्रिक पहुँच बिस्तारको लागि यातायात तथा पारवहन  प्रोटोकलमा हस्ताक्षर भएको स्मरण गरे । सोङले चीनका राष्ट्र पति सिजिङ पिङको नेपाल भ्रमणपछि चीनले नेपालको आर्थिक र व्यापार विकासमा सहयोग गर्दै आएको बताए । 

सम्झौता कार्यान्वयन नभएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार र परिवर्तन हुने उनले बताए । सोङले अन्तर्राष्ट्रिय व्यापार सुधारको लागि बन्दरगाहसम्मको सडक पूर्वाधार सुधार गर्न आवश्यक रहेको बताए । 

उद्योग सचिव दुवाडीले चीनसँगको पारवहन तथा यातायात प्रोटोकलमा हस्ताक्षर पछि कार्यान्वयमा आउनु नेपालको वैदेशिक व्यापारको लागि कोशेढुङ्गा भएको बताए । उनले चीन हुँदै तेस्रो मुलुकमा पहिलो पटक निर्यात शुरुवात दीर्घकालिन रुपमा जाने विश्वास रहेको बताए । 

दुवाडीले चीन हुँदै तेस्रो मुलुकसम्म व्यापार पहुँच पुग्दा व्यापार घाटा मात्रै नभएर दिगोविकासको लक्ष्य हाँसिलमा समेत सहयोग पुग्ने बताए । नेपाल—चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले ८ वर्षअघि चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको बताए । 

दुवाडीले पारवहन सम्झौता कार्यान्वयन भएसँगै चीनको समुन्द्र हँुदै पहिलो पटक जापान निर्यात शुरु भएको बताए । उनले चीन हुँदै तेस्रो मुलुकमा नेपाली सामान निर्यात गर्नको लागि ढुवानी सस्तो पर्ने बताए । दुवाडीले विमानबाट नेपालबाट सामान लैजाँदा प्रति केजी २६५ रुपियाँ पर्नेमा चीन हुँदै समुन्द्रबाट पठाउँदा व्यवसायीले ६० रुपियाँ मात्रै ढुवानी पर्ने बताए । 

उनले भारतको कोलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकमा पठाउने वस्तुहरुको ढुवानी चीन हुँदै पठाउँदा धेरै सस्तो पर्ने बताए । दुवाडीले चीनको बाटो हुँदै तेस्रो मुलुकबाट नेपालमा सामान निर्यात हुन शुरु भइसकेको बताए । 

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले भारतको भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरु निर्यात गर्दै आएको अब चीनको बन्दरगाह प्रयोग गरेर वस्तु निर्यातको बाटो खुलेको बताए । 

उनले चीनसँगको पारवहन सम्झौता कार्यान्वयनसँगै नेपाल ल्याण्ड लक भन्दा पनि ल्याण्ड लिक देशमा स्तरोन्नती भएको बताए । मल्लले चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा आउनु नेपालका निर्यात व्यवसायीहरुको लागि सकारात्मक रहेको भन्दै चीनको बाटो हुँदै विश्वका अन्य मुलुकमा व्यापार प्रवद्र्धन गर्न सकिने बता । उनले चीनबाहेक विश्वका अन्य मुलुकमा चीनको समुन्द्र प्रयोग गरेर निर्यात गर्न पाउनु नेपालको लागि सुखद पक्ष भएको बताए । 

सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले निर्यात खुलेर एक पटक खुशीयाली बनाउने तर बीचमा बन्द हुने गरी काम गर्न नहुने बताए । उनले चीन हुँदै नेपालबाट तेस्रो मुलुकमा नेपाल वस्तु निर्यातको बाटो दीर्घकालिन रुपमा जान आवश्यक रहेको बताए । 

शेर्पाले सिल्क ट्रान्सपोर्टकाले नै तेन्जिङ सुख्खाबन्दरगाहसम्ममा पुर्याउने बताए । उनले चीनको बाटो हुँदै विश्वका अन्य देशहरुसँग निर्यात र आयात वृद्धि गर्न लाग्ने पनि बताए । शेर्पाले पारवहनबाट नेपालले चीनसँग धेरै फाइदा लिनुपर्ने बताए । 

उनले चीन हुँदै तेस्रो मुलुकमा निर्यात व्यापारको बाटो खुलेकाले चीनसँग जोडिएको तातोपानी नाका जाने सडक पूर्वाधार सुधारमा राज्यको ध्यान जानुपर्ने बताए । 

शुक्रवार तातोपानी नाकाबाट चीन हुँदै जापानको लागि विभिन्न नेपाली चाउचाउ लगायतका सामाग्रीहरु निर्यात हुनेछन् । चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट नियमित सामान ल्याउन कठिन भएको अवस्थामा तेस्रो मुलुक हुँदै सामान आयात र निर्यात गर्न कति सम्भव हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

Advertisement

Advertisement