सहकारीमा जस्तै बैंकमा पनि एकैपटक मान्छेको लाइन लाग्यो भने बैंकहरुले भुक्तानी गर्न सक्छ ?

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले एकै पटक बचतकर्ताहरु बचत निकाल्न आए सहकारीले मात्रै नभएर बैंकले पनि रकम भुक्तानी गर्न कठिनाई हुने बताउँदै अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा सहकारी संस्थाको मात्रै दोष नभएर सरकारको कमजोर नियमन पनि कारण रहेको बताएकी छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले केही सहकारीमा समस्या रहे पनि यो अहिलेको परिस्थितिगत र सरकारको नीतिगत संरचनाले निम्तिएको समस्या भएको बताएकी छन् । एकै पटक मानिसहरु लाइन लाग्ने परिस्थिति आउने र सो आधारमा सबै सहकारी सञ्चालकहरुलाई दोषी देख्ने कुराले समग्र सहकारी आन्दोलन समस्यामा पर्ने मल्लको भनाई छ । 

Advertisement

बैंकले जस्तै सहकारीले पनि १० देखि ३० प्रतिशतसम्म तरलता कायम गरेर सञ्चालन भएको हुने, ८०–९० प्रतिशत तरलता राखेर उनीहरु सञ्चालन हुन नसक्ने भन्दै उनले यो व्यवहारिक समस्यालाई पनि सरकार र सहकारीका सदस्य सबैले बुझ्नुपर्ने बताइन् । 

अध्यक्ष मल्लले नयाँ सहकारी ऐनअनुसार बन्नुपर्ने ऋण अशुली न्यायाधीकरण, कर्जा सुचना केन्द्र, कर्जा तथा ऋण सुरक्षणको व्यवस्था, वित्तीय सहकारीहरुको नियमनका लागि छुट्टै निकाय बनाउने कुरा कार्यान्वयन गर्न सरकारले ढिलाई गर्दा पनि अहिले सहकारी क्षेत्रको समस्या जटिल बनेको बताइन् । 

अध्यक्ष मल्लले रुस–युक्रेन युद्ध सुरु भएसँगै नेपालमा पनि विश्वव्यापी आर्थिक मन्दीको प्रभाव सुरु हुनु, बैंकहरुले तरलता कम भएसँगै निक्षेप आकर्षित गर्न ब्याजदर उच्च बनाउनु तर सहकारी संस्थाहरुको लागि सन्दर्भ व्याजदरमा पुनराबलोन गर्न सरकारले वास्ता नगर्नु, बैंकिङ क्षेत्रलाई संरक्षण गर्ने नेपाल राष्ट्र बैंक जस्तो सहकारी क्षेत्रलाई संरक्षण गर्ने बलियो नियमन निकाय नहुनु जस्ता कुराहरु सहकारी संस्थाहरुमा समस्या सुरु हुनुको कारण भएको बताइन् । 

उद्यपी उनले कतिपय सहकारीहरुले सदस्यहरुको बचत बदनियतपूर्ण तरिकाले दुरुपयोग गरेको, घरजग्गामा अस्वाभाविक ढंगले लगानी गरेको भन्दै त्यस्ता सहकारीको संख्या ५ प्रतिशतभन्दा कम रहेको बताइन् । मल्लले सहकारीले कम्पनीको समेत खाता खोल्ने र ऋण दिने कुरा पनि गलत भएको बताइन् । 

सहकारीको सदस्य बन्नेहरुले पनि बचतकर्ताको रुपमा नभई सदस्यको रुपमा भूमिका खेल्नुपर्ने उनको सुझाव छ । सहकारीको सदस्य भइसकेपछि हरेकले त्यो संस्थाको परिवारको सदस्यको रुपमा रहनुपर्ने र गलत काम हुँदा सचेत गराउँदै संस्थाको हितमा साथ दिने हो भने समस्या आउन कम हुने मल्लले बताइन् । उनले सहकारीको सदस्यभन्दा पनि बचतकर्ता मात्रै हुने र बचत निकाल्न मात्रै लाइन बस्न जाने, दर्जनौ सहकारीमा सदस्य बन्दै ऋण लिँदै पैसा नतिर्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नु जरुरी रहेको बताइन् । 

अध्यक्ष मल्लले सहकारी ऐनअनुसारका प्रावधानहरु कार्यान्वयन गर्न अहिले महासंघको कुरा भइरहेकाले सहकारी क्षेत्रमा क्रमिक सुधार आउने आशा व्यक्त गरिन् । बैंकहरुको ब्याजदर घट्दै गएकाले पनि सहकारी क्षेत्रको समस्यामा सुधार आउने उनको आशा छ । मल्लले देशभर ३० हजारभन्दा बढी सहकारी रहे पनि करिव पाँच सयमा मात्रै समस्या देखिएकाले समग्रमा सहकारी क्षेत्रले देशको आर्थिक विकास, ग्रामीण क्षेत्रमा महिला तथा विपन्न वर्गको सशक्तिकरणमा भूमिका खेल्दै आएको बताइन् । 

सहकारी क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न महासंघले पनि भूमिका खेलिरहेको र सरकारले पनि समस्यामा रहेका सहकारीमध्ये समस्याको कारण छुट्टाएर सही ढंगले कारोबार गर्दागर्दै पनि समस्यामा परेकाहरुका सन्दर्भमा फरक व्यवहार गर्नुपर्ने उनको सुझाव छ । उनले सहकारीको नियम र परिधिभित्र रहेर सबैले कारोबार गर्नुपर्ने बताइन् । 
 

Advertisement

Advertisement