बसीबसी खान घरजग्गा, गाडी र शेयरमा लगानी गर्दा व्यक्तिसँगै बैंक पनि डुब्दै (विचार)

Advertisement

-रुषा थापा

बाटोमा जताततै कोठा खाली, सटर खाली, फ्ल्याट खाली लेखिएको देखिन्छ । यतिसम्म कि अहिले त आम नागरिक बाटोमा हिड्ँदा पनि जताततै कोठा, सटर र फ्ल्याट खाली छ ? भनिरहेका हुन्छन् । अहिले मुलुकभरका ७५ प्रतिशत कोठा, सटर र फ्ल्याट खाली भइसकेको बुझिएको छ । 

Advertisement

चैतपछि झन् कोठा, सटर र फ्ल्याट खाली हुने बताइन्छ । किनकि, चैतमा वार्षिक परीक्षा हुन्छ । अहिले त अभिभावकहरू आफ्ना बालबालिकाको पढाइका लागि भए पनि बसिरहेका छन् । तर, परीक्षा सकिएपछि त उनीहरू गाउँघर नै फर्किनेछन् । त्यस्तै, सटर लिएर व्यापार गर्दै आएकाले भाडा तिर्न सकेका छैनन् । 

कोठामा बस्नेहरूले पनि काम गरेको ठाउँबाट तलब नदिएपछि भाडा तिरेका छैनन् । तीन वर्षअघि काठमाडौं उपत्यकामा एउटा कोठा तथा सटर खोज्न वर्ष दिन लाग्थ्यो । छ महिना खोजेर पनि नभेटिएपछि मानिसहरू दलालकहाँ पुग्थे । अनि दलालीलाई २० हजारदेखि ५० हजार बुझाएर कोठा, सटर वा फ्ल्याट पाउँथे । 

अहिले पनि घरधनीहरू ठाउँअनुसार एउटा सटरको मासिक २५ हजारदेखि १६ लाख भाडा असुल्छन् । एउटा फ्ल्याटको ३० हजारदेखि दुई लाखसम्म लिन्छन् अनि एउटा कोठाको पाँच हजारदेखि पन्ध्र हजारसम्म । भाडामा बस्नुअघि नै घरधनीहरू तीन महिनाको भाडा माग्छन् । सेवासुविधा केही दिँदैनन् । तर, बत्ती–पानी, फोहोरलगायतको शुल्क भने दोब्बर–तेब्बर लिन्छन् । 

अहिले आम्दानी नभएपछि कतिपयले कोठाको सामान नै घरधनीलाई  छोडेका छन् त कतिपयले ऋण खोजेर भए पनि बुझाएका छन् । त्यस्तै, कतिपय भने भाडा तिर्न नसकेपछि राति वा घरधनी नभएको समयमा कोठा सरेका छन् । 

हिजोआज प्रायः घरधनी भाडामा बस्ने मान्छे खोजेर हिँडिरहेको भेटिन्छ । आफ्नो चिनजान भएको व्यक्ति तथा पसलेलाई घरधनी ‘कोही भाडामा बस्ने छ भने मेरो घरमा ल्याइदिनुस् न’ भन्छन् । घर खाली हुन थालेपछि उनीहरूको भोक र निद्रा नै मेटिएको छ । कारण, आम्दानीको स्रोत भनेकै घर भाडा हो । 

जसले घरजग्गा, गाडी र सेयर धितो राखेर बैंकबाट ऋण लिएको थियो, त्यो अब सडकछाप नै हुने देखिन्छ । बुढापाकाले भन्थे, ‘रुखमुनिको बाली फल्दैन । ऋण लिने व्यक्ति उँभो लाग्दैंन ।’ ऋणलाई घिनसमेत भनिन्थ्यो पहिले–पहिले । तर, केही वर्षयता मानिसहरूले ऋण नै लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन् । यसको परिणाम बिस्तारै देखिँदैछ । लिएको ऋण तिर्न नसकेपछि कतिले त मृत्युवरण गरिरहेका समाचार आइरहेका छन् । 

घर नै खाली भएपछि कसरी खर्च जुटाउने ? पसलेले बिनापैसा सामान दिँदैन । अनि पैसा नभएपछि भोक लाग्दा घरको इट्टा त पचाउन मिल्दैंन नि त । हिजो अन्न उत्पादन हुने खेत बेचेर घर बनाए । खेतमा अन्न उत्पादन हुन्थ्यो । त्यो खेत नबेचेको भए अन्न खान पाइन्थ्यो होला । खेतमा काम गर्न दुःख हुन्छ भनी बसीबसी खानका लागि खेतबारी नै बेचेर मानिसले घर बनाए । तर, अहिले घर भाडामा नगएपछि उनीहरू चिन्तित छन् । 

एकातिर घर भाडामा गएको छैन, अर्कोतिर त्यै घर पनि बैंकको नाममा छ । किस्ता नतिर्नेबित्तिकै बैंकले घर लिलाम गर्छ । खासमा त, अहिले बैंकले लिलाम गरेको धितो पनि बिक्री नभएको सुनिन्छ । दुई वर्षअघि तीन करोडमा खरिदबिक्री भएको घरजग्गा अहिले त्यसको आधा मूल्यमा समेत बिक्री नभएको विषय चिया भेट र चोकचोकमा सुनिन्छ । 

जसले घरजग्गा, गाडी र सेयर धितो राखेर बैंकबाट ऋण लिएको थियो, त्यो अब सडकछाप नै हुने देखिन्छ । बुढापाकाले भन्थे, ‘रुखमुनिको बाली फल्दैन । ऋण लिने व्यक्ति उँभो लाग्दैंन ।’ ऋणलाई घिनसमेत भनिन्थ्यो पहिले–पहिले । तर, केही वर्षयता मानिसहरूले ऋण नै लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन् । यसको परिणाम बिस्तारै देखिँदैछ । लिएको ऋण तिर्न नसकेपछि कतिले त मृत्युवरण गरिरहेका समाचार आइरहेका छन् । 

भनिन्छ, अधिकांश मानिसको घरजग्गा, गाडी र सेयर, बैंक तथा वित्तीय संस्थाको नाममा छ । यसले ऋणीसँगै बैंक पनि डुब्ने अवस्थामा पुगेका छन् । दलालले ५० हजार आना नपर्ने जग्गा ४५ लाखमा बेचेका छन् । बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर पाँच हजारमा बेचेका छन् । अनि भारतमा एक लाखमा पाइने गाडी नेपालमा २० लाखमा बेचिएको छ । 

व्यक्ति होस् या संघसंस्था, सबैको लगानी यिनै तीन क्षेत्रमा फसेको छ । फेरि यो क्षेत्रमा भएको लगानी भने फ्रिज हुन पुग्दा आज मुलुककै अर्थतन्त्र संकटमा परेको छ । 

सरकारले पहिल्यै खेतीयोग्य जमिन खण्डीकरण गर्न नदिएको भए आज हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर हुन्थ्यो । विदेशी मुलुकमा खाद्यान्न निर्यात गर्थ्यो । विडम्बना ! सरकारले खेतीयोग्य जमिनसमेत खण्डीकरण गर्न दियो । र, मानिसहरूले खेतीपाती गर्दै आएको जमिन मासेर घर बनाए ।
यसले गर्दा आज व्यक्ति र बैंक तथा वित्तिय संस्थाको लगानी त जोखिममा परेको छ नै, सँगै मुलुकमा खाद्यान्न संकट निम्ति संकेत देखापरेको छ । मुलुकको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिसकेको छ । त्यसमाथि छिमेकी मुलुक भारत र चीनले नेपालको कतिपय भूभाग कब्जामा लिइसकेको छ । 

महत्त्वपूर्ण कुरा त यो हो कि मुलुक खाद्यान्नमा आत्मनिर्भर छैन । नेपाल खाद्यान्नमा आत्मनिर्भर भएको भए मुलुकको अर्थतन्त्रमा संकट निम्तिए पनि खासै प्रभाव पर्दैनथ्यो । खाद्यान्न निर्यात गरेर पनि आम्दानी गर्न सकिन्थ्यो । तर, यहाँ त अन्न उत्पादन हुने जमिन नै मासिएको छ । अनि कहाँ खाद्यान्न उत्पादन गर्नु ? अब विदेशीले खाद्यान्न नपठाए नेपाली जनता भोकभोकै मर्नुपर्ने छ । 

चार दशकको बीचमा उपत्यकाको खेतबारी सबै मासिएको छ । उपत्यकाको मात्र होइन, देशैभरको जमिन घर र बाटो बनाउँदा मासिएको छ । व्यक्तिहरू बसीबसी खान पल्किँदा र सरकारले बेलैमा ध्यान नदिँदा आज सबै डुब्ने अवस्थामा पुगेको छ । अब के गर्छ सरकार ? बैंकले कसरी आफ्नो लगानी उठाउँछ ? 

अहिले उब्जनी हुने जमिन घट्दै गएको छ तर खाने मुख भने दिनानु बढ्दो छ । अन्य मुलुकले खाद्यान्न नपठाए नेपालमा भोकमरी सुरु हुनेमा शंका छैन । खाद्यान्न आयात गर्दा देशको सबै मुद्रा विदेशिएको छ । सरकारको ध्यान घरजग्गा, गाडी र सेयरबाट राजस्व उठाउनतिर मात्रै गएको देखिन्छ । सरकारले राजस्वलाई मात्र ध्यान दियो । त्यसबाट पर्ने नकारात्मक प्रभावबारे केही सोचेन । 

अब पनि सरकारकै लापरबाहीका कारण धेरै व्यक्ति र बैंक डुब्नेछ । सँगै मुलुक पनि । एयरपोर्टमा खाडी मुलुक विदेशिने नेपाली युवाको लाम छ । महंगी, बेरोजगारीका कारण राजधानीमा बस्दै आएकाहरू गाउँघर नै फर्किएका छन् । यसले घर झन्झन् खाली हुनेछ । 

कोठा लिएर भाडामा बस्ने, सटर लिएर व्यापार गर्ने वा फ्ल्याट लिएर अफिस सञ्चालन गर्ने अब कोही हुने छैन । यसको असर सिधैं बैंकमा पर्छ । किनकि त्यो घरजग्गा धितो राखेर बैंकले ऋण प्रवाह गरेको छ । ऋणले कर्जा नतिर्नेबित्तिकै बैंकले धितो लिलाम गर्छ । तर, अहिले बैंकले लिलाम गरेको धितो बिकेको छैन । यसले गर्दा बैंक पनि डुब्ने देखिएको छ । 

चार दशकको बीचमा उपत्यकाको खेतबारी सबै मासिएको छ । उपत्यकाको मात्र होइन, देशैभरको जमिन घर र बाटो बनाउँदा मासिएको छ । व्यक्तिहरू बसीबसी खान पल्किँदा र सरकारले बेलैमा ध्यान नदिँदा आज सबै डुब्ने अवस्थामा पुगेको छ । अब के गर्छ सरकार ? बैंकले कसरी आफ्नो लगानी उठाउँछ ? 


 

Advertisement