बजेट बनाउने बेला बजेट महाशाखा प्रमुख खत्रीलाई सरुवा गर्ने अर्थमन्त्रीको तयारी

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रीलाई सरुवा गर्ने तयारी गरेका छन् । स्रोत सहमतिको फाइल अघि नबढाएको भन्दै महतले खत्रीको सरुवा गर्न लागेका हुन्।

पछिल्लो समय महत र बजेट महाशाखा प्रमुख खत्रीबीच दुरी बढ्न सुरु भएको थयो । महत र उनको सचिवालयले लाभका फाइल अघि बढाउन दबाब दिएपछि पनि खत्रीले अटेर गरेपछि उनीहरुबीच दुरी बढ्न सुरु भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट अनुशासनबाहिर गएर कुनै पनि काम नगर्न चेतावनी दिँदै २२ बुँदे निर्देशन दिएपछि कर्मचारीहरु सतर्क हुन थालेका हुन् । 

Advertisement

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री र खत्रीबीच दिनदिनै विवाद बढ्न थालेको छ । अर्थ मन्त्रालयका बजेट महाशाखामा रकमान्तर, स्रोतान्तर, थप बजेट, स्रोत सहमति लगायतको फाइलको चाङ रहेको छ । मन्त्रीको स्वार्थको फाइल अघि नबढेपछि महतले महाशाखा प्रमुखलाई बोलाएर सोध्ने गरेका छन् । 

स्रोतका अनुसार बजेट महाशाखामा कार्यरत कर्मचारी पूर्वसचिव मधुकुमार मरासिनीलाई अख्तियारले मुद्दा दायर गरेपछि सशंकित बनेका छन् । उनका अनुसार मतमुटाव गरेर काम गर्नुभन्दा खत्री आफै पन्छिन् खोजेका हुन् । 

खत्रीले यसअघि नै सरुवा मागेपछि अर्थमन्त्रीले निर्णय गर्न भने ढिलाई गर्दै आएका थिए । नयाँ बजेटको काम थाल्नुपर्ने भएकाले उनले खत्रीलाई हटाएर अनुकुलको मानिस ल्याउन थालेका हुन् । यद्यपि खत्रीलाई अर्थमन्त्रीकै पार्टी नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको सिफारिसमा कांग्रेसनिकट भएको आधारमा यसअघि अर्थ मन्त्रालय ल्याइएको थियो ।  

तर अख्तियारको २२ बुँदे चेतावनी र अर्थमन्त्रीको दबाबबीच तलमेल नमिल्दा प्रतिकुल अवस्था बनेको हो । अख्तियारले आफ्नो  निर्देशन पालना नभए उच्च तहका कर्मचारी र मन्त्रीमाथि पनि छानविन र कारवाहीको चेतावनी दिएको छ । 

आर्थिक मन्दीका कारण राजश्व संकलन लक्ष्यभन्दा निकै कम संकलन भएपछि अर्थमन्त्री महत तनाबमा छन् । सोही कारण उनी बजेट अनुशासन तोडेर खर्च गर्न बाध्य भएका छन् । तर कर्मचारीहरु मन्त्रीका लागि जोखिम मोल्न तयार छैनन् । अर्थमन्त्री महतले गएको पुसमा मात्रै २९ अर्ब बजेट बाहिरबाट खर्च अनुमति दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको स्वार्थको फाइल अघि बढाउन दबाब दिँदै आए पनि खत्रीको असहमतिका कारण रोक्किएको छ । 

Advertisement