राजा महेन्द्रबाट उद्घाटित नेबिको बिस्कुट ६०औं वर्षमा, अब खाद्यान्न व्यवसाय पनि सुरु गर्ने

Advertisement

काठमाडौं । देशकै सबैभन्दा पूरानो र गौरवमय इतिहास बोकेको बिस्कुट उद्योग नेबिको प्राइभेट लिमिटेड ६०औं वर्षमा प्रवेश गरेको छ । 

नेबिको बिस्कुटको स्थापना २०२१ सालमा बालाजु औद्योगिक क्षेत्रमा राजा महेन्द्रले उदघाटन गरी भएको थियो । निकै उतारचढावका बीच छ दशकको यात्रा पार गरेको यो उद्योगले बिस्कुट, कन्फेस्नरी, कुकिजसहित अब दाल चामलको व्यवसायमा पनि प्रवेश गर्ने योजना बनाएको  कम्पनीका बजार प्रबन्धक अरुण पौड्यालले बताए ।

Advertisement

उनले भने,  ‘बजारमा सबैभन्दा धेरै प्रोडक्ट निकाल्ने कम्पनी हामी हौं । वर्षमा केही नआए पनि छ वटा जति नयाँ प्रोडक्ट ल्याउने गरेका छौं । कुकिजलाई ब्राण्डिङ गरिरहेका छौं । अब खाद्यान्नमा पनि जाने योजनामा छौं ।’ बीस करोड रुपियाँ लगानी थपेर खाद्यान्न व्यवसाय सुरु गर्ने योजना बनाएको नेबिकोले परीक्षणको रुपमा सुरुमा दाल चामलको व्यवसाय गर्ने पौडेलले बताए । 

आम नेपालीमा अहिले बिस्कुट भन्ने बित्तिकै पहिला ‘नेबिको बिस्कुट’को याद आउँछ । गुणस्तरीय उत्पादन र उत्पादनमा विविधतामार्फत आम उपभोक्ताको मन जित्न सफल यो बिस्कुटले छ दशकको अन्तरालमा करिब ७५ प्रकारका बिस्कुट बजारमा पठाइसकेको पौड्यालले जानकारी दिए । 

उनले भने, ‘‘नेबिकोको ‘टार्गेट’ भनेको सबै उमेर समूह हो । चाहे बच्चा होस्, चाहे युवा होस्, जुनसुकै उमेर समूहअनुसारको प्रोडक्ट नेबिकोले बनाउँछ र बजारमा पठाउँछ । नेबिको भन्ने बित्तिकै मानिसले बिस्कुट भनेर चिनिहाल्छन । तर, हामी बिस्कुट मात्रै भनेर सीमित हुँदैनौं । हामी आजका दिनमा बिस्कुट, कन्फेस्नरी, कुकिजसँगै ब्रेकफाष्ट सिरिजमा पनि काम गरिरहेका छौं । बिस्कुट, कुकिज र कन्फेस्नरी बालाजुको फ्याक्ट्रिबाटै उत्पादन भइरहेको छ । ब्रेकफास्टको कुरामा चाहिँ प्याकेजिङ गरेर बिक्री गरिरहेका छौं ।’ 

कम्पनीले भारतको एक प्रतिष्ठित कम्पनीबाट सामान झिकाएर यस्ता ब्रेकफाष्ट बिक्री वितरण गरिरहेको पौड्यालले बताए । यो काम थालेको चार वर्ष पूरा भएको उनले बताए । अब कम्पनीले नजर विस्तारै खाद्यान्न व्यवसायमा पनि लगाउन थालेको पौड्यालले बताए । सफल बिस्कुट कम्पनीपछि अब सफल खाद्यान्न कम्पनी बन्ने योजनामा आफूहरुको रहेको उनको भनाई छ । 

नेबिकोको भैरहवास्थित कारखानाबाट पनि बिस्कुट नै उत्पादन हुँदै आएको छ । हेटौडा औद्योगिक क्षेत्रमा पनि उद्योग स्थापना गर्ने योजनामा नेबिको रहेको छ । यसको लागि कम्पनीले अध्ययन गरिरहेको पौड्यालले बताए । फरक–फरक ठाउँबाट फरक–फरक योजना बनाइरहेको पौड्यालले बताए । उनले थपे, ‘आन्तरिक बजारमा नेबिको ‘मार्केट लिडर’ नै हो । हिजो पनि थियो । आज पनि छ । भालि पनि ‘लिडर’ नै रहने छ । त्यसका लागि रणनीतिक योजनाका साथ काम भइरहेको छ ।’ 

नेबिकोले नेपालको बिस्कुट बजारमा १२ प्रतिशत हिस्सा ओगटेको छ । कोरोना महामारीदेखि नै देशको आर्थिक अवस्था बिषम बन्दै गएकाले यसको असर उद्योगमा पनि परेको छ । यसैबीच बालाजु उद्योगमा आगलागी भएर ठूलो क्षति पनि भयो । यस्तो प्रतिकुल अवस्थामा पनि आफूहरुलाई ‘बजार भएन्, सामा िबिक्री भएन्’ भन्ने अवस्था नआएको अनुभव सुनाउँदै पौड्यालले तर विभिन्न खालका समस्या भने झेल्नुपरेको बताए । 

उनले भने, ‘हामी अन्य समस्याबाट ग्रसित छौं । चाहिएको बेला कच्चा पदार्थ पाइरहेका छैनौं जसको कारण बजारमा माग भएको वस्तु तयार गरी बिक्री गर्न सकेका छैनौं । कहिले मैदा पाइँदैन् । कहिले चिनी पाइँदैन् । यस्ता समस्याले उद्योगलाई असर गरिरहेको छ ।’  

प्रबन्धक पौड्यालले भने ८०–९० रुपियाँमा पाइरहेको चिनी १३०–१४० रुपियाँसम्म पर्ने परिस्थिति आएको बताउँदैनेपालको उत्पादनले नपुग्ने र बाहिरबाट ल्याउन नदिने नीतिले आफूहरुलाई ठूलो समस्या हुने गरेको बताए । साथै, आर्थिक मन्दीसँगै बजारमा उधारो चक्र पनि बढ्न थालेको र यसको शिकार नेबिको पनि बन्नुपरेको उनले गुनासो गरे । 

पौड्यालले भने, ‘सुरुमा एक हप्तामा उठ्ने रकम अहिले एक महिना पुग्दा समेत उठ्न सकेको छैन् । नगदमै काम गर्ने भनेर चिनिएका कम्पनीमा पनि अहिले उधारो बढेको छ । कम्पनीको ‘क्रेडिट पिरियड’ बढेको छ । तुरुन्त पैसा आइहाल्ने अवस्था छैन् । उपभोगको हिसाबले ‘फुड सेक्टर’ भएकोले अरु क्षेत्र जस्तो अप्ठ्यारोमा भने बिस्कुट उद्योग छैन् ।’ 

आफ्ना उत्पादनहरुको गुणस्तरमा भने कुनै पनि सम्झौता नगर्ने उनको भनाई छ । पौड्यालले आफ्ना कुनै पनि उत्पादनबाट धेरै नाफा निकाल्ने योजना नबनाएका कारण लामो समयदेखि नेबिको बजारमा ‘लिडिङ’ कम्पनीको रुपमा रहेको दावी गरे । उनले भने, ‘बरु हामीले घाटा नै खाएर उत्पादन बिक्री गरिरहेका छौं । तर गुणस्तरमा सम्झौता गरेका छैनौं । हाम्रो व्यवस्थापनको सबैभन्दा धेरै चासो नै गुणस्तरमा नै छ ।’

सरकारले व्यापारभन्दा उत्पादनमूलक उद्योगलाई नै महत्व दिनुपर्नेमा त्यस्तो हुन नसकेको आफूहरुलाई अनुभव भएको पौड्यालले गुनासो गरे । उनले एक अर्बको व्यापार गर्ने उत्पादनमूलक कम्पनीले प्रत्यक्ष रुपमा पाँच सयदेखि छ सय जनालाई रोजगारी दिने तर पाँच अर्बको व्यापार गर्ने ट्रेडिङ कम्पनीले २५ जना लगाएर मुनाफा गरिरहेको हुन्छ भन्दै रोजगारी बढाउने हो भने उद्योगमा नै केन्द्रीत हुनु जरुरी रहेको सुझाव दिए । 

उत्पादनशील उद्योगले राष्ट्र निर्माणमा ठूलो भूमिका खेल्ने पौड्यालले बताए । उदाहरण दिँदै उनले एउटा बिस्कुट उद्योग चल्दा ३–४ वटा अर्को उद्योग चलिरहेको हुन्छ भने । बिस्कुट उद्योग चल्दा मैदा उद्योग, कार्टुन बनाउने उद्योग, चिनी मिललगायत उद्योग सञ्चालन हुने उनले बताए । तर यो वास्तविकतालाई सरकारले धरातलमा आएर सोच्न नसकेको लाग्छ भने । 

स्वदेशीमा आकर्षण बढ्दै
पछिल्लो समय स्वदेशी उत्पादनमा नेपाली उपभोक्ताको आकर्षण बढाउन थालेको बजार प्रबन्धक पौड्यालको अनुभव छ । सामानको ताजापनका लागि भए पनि नेपाली सामान उपभोग गर्नुपर्ने सुझाव उनले दिए । 

पौड्यालले भने, ‘विदेशबाट मानौं आजको दिनमा प्रोडक्ट बन्यो । उसले भोलि डेलिभरी गर्यो । तर, सो सामान नेपाल आइपुग्न १५ देखि ३० दिन लाग्छ । तर नेपाली उद्योगले बनाएको सामग्री त आज बन्यो भने भोलि नै बजारमा जान्छ । ताजापनको रुपमा हामीले हेर्यौं भने त नेपाली सामान नै धेरै ताजा भयो नि । यो विषय त सजिलै बुझ्न सकिन्छ ।’

नेपाली उत्पादनलाई माया गर्नेको संख्या दिनप्रतिदिन बढ्न थालेको पौड्यालले बताए । उनले ग्राहक पनि विभिन्न प्रकृतिका हुने बताए । पौड्यालले भने, ‘नेपाली ग्राहक कोही सस्तो खोज्ने हुन्छन् । यो क्याटागोरीमा करिव ४० प्रतिशत उपभोक्ता हुन्छन् । यस्तै, गुणस्तर खोज्ने ग्राहक २० प्रतिशत हुन्छन् । ‘सो–अप’ गर्ने २० प्रतिशत नै र स्वदेशी ब्राण्डलाई प्रथामिकता दिने पनि २० प्रतिशत छन् ।’  

नेबिकोले विस्तार गर्न खोजेको व्यवसायमा सकेसम्म नेपालमै पाइने कच्चा पदार्थ प्रयोग गर्ने योजना रहेको उनले बताए । तर चिनीको उपलब्धता र मूल्यका कारण भने आफूहरुले धेरै धोखा भएकाले यसमा के गर्ने ? भन्नेमा आफूहरु रहेको बताए । 

Advertisement

Advertisement