सन सेक्युरिटिजले गर्यो शेयर बजार र लगानी सम्बन्धी तालिम

Advertisement

काठमाडौं । सन सेक्युरिटिज प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज काठमाडौं महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा ‘सन विथ कम्युनिटि’ कार्यक्रमको शुरुवात गरेको छ । 

कम्पनीको कार्यालय नक्साल काठमाडौं–१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सन सेक्युरिटिजले वडा नं. १ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको हो । 

Advertisement

वडा सचिव सर्वज्ञराज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

सन विथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा वडाभित्र बसोबास गर्ने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि पौडेलले सन सेक्युरिटिजले काठमाडौं महानगरपालिका ०१ भित्रका समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट वडाबासीहरु लाभान्वित हुने बताए ।साथै शेयरबजारमा लगानी गरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए । 

यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण वडाका बासिन्दाहरुले पाउन सक्नुहोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए । 

उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडाबासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समयभित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्नसक्ने बताए । 
 

Advertisement

Advertisement