एसियन लाइफ र मल्टिपर्पस फाइनान्सको साधारणसभा आज, यस्ता छन् एजेन्डा

Advertisement

काठमाडौं । आज (शुक्रबार) दुई कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । आज एसियन लाइफ इन्स्योरेन्स र मल्टिपर्पस फाइनान्सले साधारणसभा बोलाएका हुन् । 

एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्नेछ । 

Advertisement

साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।

त्यसैगरी, बोनस शेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेस हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले  फागुन ८ गते बुक क्लोज गरेको छ । तसर्थ, फागुन ७ गत नेप्सेमा कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

त्यसैगरी, मल्टिपर्पस फाइनान्सको वार्षिक साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । सभामा संस्थापक समूहको तर्फबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने एजेन्डा छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेस हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गते बुक क्लोज गरिसकेको छ । 

Advertisement

Advertisement