सत्ता गठबन्धन डिलमा, माओवादी-एमालेको बन्ला त नयाँ समीकरण ?
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । सत्ता गठबन्धन डिलमा पुगेको छ । राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन डिलमा पुगेको हो । यसैलाई लिएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नयाँ समीकरणमा जाने संकेत देखिएको छ । 

आइतबार राति प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । टीआरसीको विषयमा छलफल भएको भनिए पनि मुख्य विषवस्तु सत्तासमीकरण रहेको बुझिएको छ । 

Advertisement

आइतबारको विकाससित घटनाक्रमपछि आज बिहानैबाट सबैजसो दलहरू आन्तरिक बैठकमा जुटेका छन् । त्यस्तै, आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित बनेको छ ।

सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहान १० बजे बस्दैछ । गठबन्धनमा पछिल्लो समय देखिएको असमझदारीपछि देउवाले बैठक बोलाएका हुन् । 

त्यसैगरी, नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा बैठक बसेको थियो । एमालेले सत्ता गठबन्धनमा गम्भीर संकट देखा परेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग नयाँ ढंगले छलफल गर्न सकिने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री गठबन्धन टुटाउन तयार भए आफूहरु नयाँ ढंगले अघि बढ्न तयार रहेको एमालेको निष्कर्ष छ ।

त्यसैगरी, विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सो अधिकार दिइएको हो ।

बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए । 

Advertisement