निगमको भैरहवा–दुबई उडान शुक्रबारदेखि

Advertisement

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले  भाेलि (कात्तिक २३ गते शुक्रबार) देखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।

एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ ।

Advertisement

भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । अब ८ नोभेम्बर (२३ कात्तिक) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । 
भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपियाँ रहेको छ । 

त्यस्तै कात्तिक २४ गते फ्लाई दुबई र कात्तिक २५ गतेदेखि जजिरा एयरवेजले उडान गर्ने तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको सूचना अधिकारी भुलले जानकारी दिए । उनीहरूको उडान तालिका भने स्वीकृत भइसकेको छैन । 
 

Advertisement

Advertisement