जनयुद्धलाई ‘औचित्यहिन’ र ‘अपराध’ भनेकोमा विप्लवको आपत्ति

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् । 

सोमवार राजधानीमा आयोजित एक कार्यक्रमाम उनले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् । विप्लवले संघीय गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताए । 

Advertisement

उनले देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए । विप्लवले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताए । उनले जनयुद्धको प्रतिफल नै संघीय गणतन्त्रको स्थापना भएको बताए । 

विप्लवले भने, ‘अहिले मान्छेहरुले के भन्छन् भने जनयुद्धलाई त औचित्यहीन, जनयुद्ध त केही पनि होइन । उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरु अपराधीजस्तो । र अपराधीहरु नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ ।’

उनले थपे अहिले संघीय गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागी छ । हाम्रो गन्तव्य संघीय गणतन्त्र मात्रै होइन । हाम्रो सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्गविहीन, शोषणविहीन, देशविहीन, जाति विहीन साम्यवादमा पुर्याउने हाम्रो आदर्श छ । हामी त्यसमा जान चाहान्छौँ । तर आजको संघीय गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर, देशलाई अरुअरुको जिम्मा लाएर जान सकिदैन ।’

विप्लवले संघीय गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए । आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्याउने भए पनि संघीय गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने बताए । 

Advertisement