बाँके । तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगन्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकका लागि नेपालगञ्जमा खुलेका सुविधासम्पन्न होटलको व्यापार बढेको छ ।
होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काका अनुसार, डेढ दशकयता नेपालगन्जमा पाँचतारे, चार तारे र तीन तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिटी प्यालेसलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएका छन् ।
‘पछिल्लो समय करिब थला परेको अवस्थामा पुगेका नेपालगन्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले अहिले गति लिन थालेका छन्,’ अध्यक्ष खड्काले भने । केही तारे होटलहरु चल्न नसकेर बन्द भएका नमीठो अवस्था पनि छ भने नयाँ होटल थपिने क्रमको सुखद पक्ष पनि देखिएको उनको भनाइ छ । पछिल्लो समय सिग्नेट इन कृष्णा र किचन हटजस्ता सुविधासम्पन्न होटल बन्द भए र ती होटललाई नयाँ डायमन्ड होटल र स्टार लाइटको नाम दिएर नयाँ व्यवस्थापन गरी अहिले सञ्चालनमा ल्याइएको छ ।
यसैबीच, नेपालगन्जको खजुरारोडमा पाँचतारे होटल ‘पौवा’ को निर्माण सुरु भएको छ । विश्वबजारमा नेपाली हस्पिटालिटीको ब्रान्डिङ गर्ने लक्ष्यसहित सात वर्षअघि स्थापना भएको होटल पौवाले नेपालगञ्जमा आफ्नो १३औँ शाखा सञ्चालनअन्तर्गत होटल निर्माण गर्न लागेको हो ।
होटल निर्माणको शिलान्यास गरी बनाउन सुरु भएको छ । दुई वर्षमा यो होटल निर्माण हुने सञ्चालक विष्णु ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज खजुरारोडस्थित करिब दुई बिगाहा क्षेत्रफलमा निर्माण शुभारम्भ गरिएको एक सयकोठे उक्त होटल करिब रु एक अर्बको लागतमा निर्माण हुनेछ ।
होटल पौवा नेपाली होटल तथा रेष्टुरेन्ट क्षेत्रमा नौलो प्रयोग हुने होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । उनले भने, ‘होटलमा प्रवेश गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस हुनेगरी होटलले सेवा दिनेछ ।’
साबिकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट नराम्ररी थिचिन पुगेका थिए । सुदूरपश्चिममा छुट्टै प्रदेश हुनु तथा मध्यपश्चिम क्षेत्र लुम्बिनी प्रदेश हुनु र यसको राजधानी बुटवल (पछिल्लो समय भालुबाङ्ग) हुनुले विगतमा नेपालगन्जका होटल व्यवसायी थला परेका जस्तै भएका थिए ।
नेपालगन्जमा सानो भएपछि पर्यटक भित्र्यउन सक्ने संरचना अहिले बन्द हुन थालेका छन् । यसतर्फ राज्यको ध्यान पुग्न नसकेको नेपाल एसोसिएसन ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । नेपालगन्जको मेरो प्लानेट बन्द र फनपार्कको अवस्था पनि अत्यन्तै नाजुक देखिएको छ ।
अर्को ठूलो महत्वाकाङ्क्षी योजना वाटरपार्कको विस्तार कछुवाको गतिमा भइरहेको छ । त्यसैगरी, नेपालगञ्जकै रानी तलाउ पनि बन्द भइसकेको छ भने कान्तिताल वर्षौंदेखि निर्माणकै क्रममा अलपत्र अवस्थामा रहेको छ । नेपालगन्जको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटलहरू निकै स्तरीय छन् तर यसलाई पर्यटन व्यवसायसँग जोड्न नसकेकाले यसको भविष्य भोलिका दिनमा सुखद नरहन सक्छ भन्ने हेक्का सम्बद्ध पक्षले बुझ्न जरुरी देखिएको छ ।
‘हामीले त पर्यटकका लागि आवश्वयक पूर्वाधारको ब्रान्डिङ मात्र गर्ने हो,’ उनी भन्छन्, ‘होटल र पर्यटन व्यवसाय एकअर्काका पूरक बन्न सक्नुपर्छ र आपसमा जोडिनुपर्छ ।’