१८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको काम अगाडि बढाउने निर्णय

Advertisement

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको एमसीए–नेपाल सञ्चालक समितिको ४०औं बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि प्रसारण लाइनमध्ये १८ किमि सीमापार खण्डको काम अगाडि बढाउने निर्णय गरेको छ ।

एमसीए नेपालले १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर काम अगाडि बढाउने निर्णय गरेको हो । 

Advertisement

सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिन नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ । 

 ‘नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको महत्त्वलाई दृष्टिगत गर्दै एमसीए–नेपाल सञ्चालक समितिले निर्माणलाई अगाडि बढाउने निर्णय गरेको हो,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नवीनराज सिंहले भने, ‘यस खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न २०८३ जेठभित्रै निर्माण सम्पन्न हुने सुनिश्चित गर्नेछ ।’ 

यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्त्वपूर्ण अंश हो । यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण एमसीए नेपालको विश्वास छ ।

नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ असोजमा सहमति भएको थियो ।

बाँकी २९७ किमि प्रसारण लाइनका सन्दर्भमा निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइन निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीको सेवा खरिदका लागि एमसीए–नेपालले काम अगाडि बढाइरहेको छ । 

एमसीए–नेपाल प्रसारण लाइन समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार निर्माण सुनिश्चित गरिने बताइएको छ । 

Advertisement

Advertisement