काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो विजयी भएका छन् । कट्टरपन्थी राष्ट्रवादी नेताको रुपमा चिनिएका उनले विजयी हुने निश्चित भएसँगै फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गरेका थिए ।
रिपब्लिकन पार्टीका नेता ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए । उनले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ ।’ ट्रम्पले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै अब सीमा व्यवस्थापन गर्ने, देशलाई ‘विभाजनको पीडाबाट’ अघि बढाउने बताए।
आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका टम्पले आफ्नो पक्षमा चुनावी अभियानमा साथ दिएका धनाड्य एलन मक्सलाई पनि सम्झिए । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् ।
मतपरिणामको आधिकारिक घोषणा भइनसके पनि ट्रम्पको जिन निश्चित भएको छ । उनले आफ्नो विजयलाई ‘भव्य’ भनेका छन् । सपथग्रहणपछि ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति हुनेछन् । उनको मुख्यप्रतिस्पर्धीमा डेमोक्राटिक पार्टीकी कमला ह्यारिस थिइन् ।