नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन इन्धनको उत्पादन सुरु

Advertisement

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले ग्रिन हाइड्रोजन इन्धन स्टेशन सञ्चालनमा ल्याएको छ । ‘उत्पादन–भण्डारण–रिफिल’ मोडलमा केयूले ग्रीन हाइड्रोजन फ्यूल स्टेशन सञ्चालनमा ल्याएको हो ।

केयूले अनुसन्धान र परीक्षण प्रयोजनको लागि उक्त स्टेशन सञ्चालनमा ल्याएको हो । त्यसबाटै ग्रीन हाइड्रोजन फ्यूलको उत्पादन, भण्डारण र गाडीमा रिफिल गर्न सकिनेछ ।

Advertisement

केयूले आइतबार नै उक्त स्टेशनबाट आफ्नो हाइड्रोजन कारमा रिफिल गर्न सुरु पनि गरेको छ । केयूले गत मंसिरमा ३३ हजार डलरमा कोरियाबाट आफ्नै डिजाइनको हाइड्रोजन कार ल्याएको थियो, सोही कारमा हाइड्रोजन रिफिल गरिएको हो । 

अब छिट्टै नेपाल सरकारका उच्च पदस्थ अधिकारीबाट हाइड्रोजन फ्यूल स्टेशनको उद्घाटन गरिने केयूका ल्याब प्रमुख विराजसिंह थापाले जानकारी दिए । उनकाअनुसार यसअघि ल्याव परीक्षणका लागि मात्रै न्यून मात्रामा उत्पादन हुने गरेको थियो । अब भने यसको उत्पादन, भण्डार र गाडीमा रिफिल नै गर्न मिल्ने गरी स्टेशन सञ्चालनमा ल्याएको उनको भनाइ छ । 

नेपालमा पहिलो पटक पूर्ण स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन फ्यूलको  उत्पादन सुरु भएको हो । सरकारले पनि गएको माघमा मात्रै ग्रीन हाइड्रोजन नीति जारी गरिसकेको छ । ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन, भण्डारण तथा रिफिलका लागि कानून भने बन्न बाँकी नै छ, अब सोही नीतिको आधारमा आवश्यक कानून बनाउँदै अघि बढ्ने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको तयारी छ ।

कानूनी व्यवस्था नभएपनि केयूले अनुसन्धानको लागि १ बर्षदेखि हाइड्रोजन फ्यूल स्टेशन सञ्चालनमा ल्याउने तयारी गरेको थियो । स्टेशन तयार गर्न झण्डै डेढ करोड रुपियाँ खुद खर्च भएको केयूको भनाइ छ । अनुसन्धान प्रयोजनका लागि भएकाले केयुले भन्सार राजश्व लगायतको करमा भने छुट पाएको थियो । अनुसन्धान प्रयोजनकै लागि भएकाले केयुको हाइड्रोजन कार पनि भन्सार छुटमै आयात गरिएको थियो । 

केयुको उक्त स्टेशनमा ५ किलोवाटको हाइड्रोजन युनिट राखिएको छ, त्यसबाट दैनिक २ केजीसम्म उत्पादन गर्न सकिन्छ । यद्यपि, अहिले आवश्यकताका आधारमा ग्रीन हाइड्रोजन उत्पादन हुने बताइएको छ । 

केयूसँग रहेको नेपालमा भएको एक मात्रै हाइड्रोजन गाडी हो । पहिला उक्त कार आयात गर्दा भरिएको हाइड्रोजनले नै सञ्चालन भइरहेको थियो । तर, त्यहाँ भएको हाइड्रोजन सकिएपछि कार होल्ड भएको थियो । तर, अब उक्त कारमा हाइड्रोजन भर्न पनि सहज हुने भएको छ । 

ग्रीन हाइड्रोजन नेपालमा नौलो प्रविधि हो । बढ्दो जलावायु परिवर्ततका कारण पछिल्लो समय संसारभर नै यसको महत्व र आवश्यकता बढ्दो छ । ठूला ठूला कम्पनीहरुले हाइड्रोजन उत्पादन र हाइड्रोजन कार बनाउनमा लगानी गरिसकेका छन् । 

इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीलाई टुक्राएर हाइड्रोजन उत्पादन गरिन्छ । यसमा इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीमा हुने अक्सिजन र हाइड्रोजन टुक्राइन्छ । नेपालमा प्रशस्त मात्रामा पानी भएकाले यसको उत्पादन गर्न सकिन्छ । 

साथै, नेपालमा विद्युत् उत्पादन पनि बढ्दै गएको छ । उचित प्रविधि र आवश्यक लगानी जुटाउन सकेमा नेपालमा सफल रुपमा हाइड्रोजन उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन् ।

Advertisement

Advertisement