प्रहरीकोमा चेक बाउन्स र सहकारी ठगीको मुद्दैमुद्दा, सात महिनामै सात हजारभन्दा बढी मुद्दा दर्ता

Advertisement

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा बैंकिङ कसुरका सात हजार २८९ मुद्दा विभिन्न अदालतमा दर्ता गरेको छ । 

प्रहरीबाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकअनुसार त्यस्ता मुद्दाको बिगो रकम १४ अर्ब ४६ करोड ४७ लाख रुपियाँ रहेको छ । यी मुद्दामा प्रहरीले एक हजार ३७९ जनालाई पक्राउ पनि गरेको छ जसमा स्वदेशी पुरुष एक हजार ५३ र महिला २७४ जना रहेका छन् भने विदेशी पुरुष ४१ र महिला ११ जना छन् । 

Advertisement

चेक बाउन्स, सहकारी ठगी, हुण्डी लगायतका कसुरमा यति धेरै मुद्दा दर्ता भएका हुन् । यसमा सबैभन्दा धेरै मुद्दा चेक बाउन्ससम्बन्धी रहेको छ । गत आवभर ६९ अर्ब १५ करोड ८८ लाख रुपियाँ बिगोमा १२ हजार १२८ मुद्दा परेका थिए । बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने गर्छ । यसमा सरकार आफै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ । 

चेक बाउन्समा मात्रै ७१५३ मुद्दा, सात अर्ब ६४ करोड विगो
समीक्षा अवधीमा चेक बाउन्सका मात्रै सात हजार १५३ मुद्दा दर्ता भएका छन् । त्यसको बिगो रकम सात अर्ब ६४ करोड १९ लाख रुपियाँ रहेको छ । सात महिनामा बैंकिङ कसुर मुद्दामा एक हजार १६५ जना पक्राउ परेका छन् । 

विशेषगरि पछिल्लो समय देखिएको आर्थिक मन्दीसँगै मानिसहरुको व्यापार व्यवसाय बिग्रिँदा बैंकिङ कसुरका मुद्दा बढेका हुन् । आर्थिक शिथिलताका कारण उद्योगी, व्यापारी, कम्पनी र अरु सर्वसाधारणले उद्यारो तिर्न तथा दायित्व भुक्तानी गर्न सकेका छैनन् । उनीहरुले भुक्तानी दिनुपर्ने व्यक्तिलाई ‘पोस्टेड डेट’मा चेक दिने तर सो समयमा रकम जम्मा गर्न नसक्दा चेक बाउन्सका घटना बढेका हुन् । सहकारी संस्थाहरुले रकम भुक्तानी दिन नसक्दा पनि धेरैको व्यापार व्यसाय बिग्रिने अवस्था आएको हो । 

पछिल्लो समय उद्योग व्यवसायमा आएको शिथिलताका कारण कम्पनी तथा व्यक्तिहरुको उद्यारो तथा ऋण तिर्ने क्षमता घटेको छ भने क्रयशक्तिमा पनि हस आएको छ । फलस्वरुप उनीहरुले दिएको चेक क्लिरेन्स (साटिन) सकेको छैन । त्यसपछि भुक्तानी पाउनुपर्ने व्यक्तिहरुले चेक बाउन्स गरेर कानुनी कारवाही प्रक्रियामा लैजाने गरेका छन् । सोही कारण पछिल्लो समयमा चेक बाउन्सका घटना निकै बढेको प्रहरीले नै स्वीकार गर्नेगरेको छ ।  

चेक बाउन्समा कानुनी प्रक्रिया अगाडि बढाउन पनि सजिलो हुने भएपछि यस्तो मुद्दाको संख्या बढेको हो । तम्सुक बनाउँदा वडा कार्यालय लगायतका बिभिन्न निकायमा धाउनुपर्ने हुन्छ । तर, चेक भएपछि बाउन्स गरेर सिँधै मुद्दा प्रक्रियामा जान सकिन्छ । त्यसैले पछिल्लो समय पैसा लिनुपर्ने व्यक्तिबाट तम्सुकको सट्टा चेक लिने प्रवृति बढेको छ । 

सहकारी ठगीमा छ अर्ब ६९ करोडको ७३ मुद्दा
यसैगरि, सहकारी ठगीमा पनि उच्च मात्रामा मुद्दा परेको देखिन्छ । सात महिनामा सहकारी ठगीका ७३ वटा मुद्दा परेको छ जसको बिगो रकम छ अर्ब ६८ करोड ९४ लाख रुपियाँ रहेको तथ्यांकमा उल्लेख छ । सहकारी ठगीमा प्रहरीले १५६ जनालाई प्रक्राउ गरेको देखिन्छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । उनीहरुले जथाभावी लगानी गर्दा पनि यस्तो समस्या आएको देखिन्छ । पछिल्लो समय थुप्रै सहकारी बन्द समेत भएका छन् । त्यसपछि बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउने आशामा सञ्चालक तथा उच्च पदस्थ अधिकारीविरुद्ध मुद्दा हाल्ने गरेका छिन् । फलस्वरुप सहकारी ठगीसम्बन्धी मुद्दा बढेको प्रहरीको भनाइ छ ।

अन्य मुद्दा कति ? 
यसैगरि, नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत आठ करोड ७८ लाख रुपियाँ  बिगोमा २९ मुद्दा परेको छ । तथ्यांकअनुसार विद्युतीय माध्यमको दुरुपयोगमा एक करोड ७ लाख रुपियाँ बराबरको छ वटा मुद्दा, बैकिङ सम्पत्तिको दुरुपयोगमा २१ लाख रुपियाँ बराबरको दुई वटा मुद्दा, बैंक वा वित्तीय संस्थालाई झुक्काएकोमा एक करोड ५९ लाख रुपियाँ बराबरको आठ वटा मुद्दा र गैरकानुनी बैंकिङ कारोबारमा ३८ लाख रुपियाँको बिगो बराबरको १४ वटा मुद्दा दर्ता भएको छ । 

कुन वर्ष कति मुद्दा ? 
तथ्यांकअनुसार आव २०७५–७६ मा एक अर्ब ५९ करोड १० लाख रुपियाँ बिगो बराबरको तीन हजार ३६ मुद्दा परेकोमा २०७६–७७ मा दुई अर्ब ९३ करोड ३७ लाख रुपियाँ बराबरको तीन हजार ३१५ मुद्दा, २०७७–७८ मा तीन अर्ब ३७ करोड पाँच लाख बराबरको दुई हजार ३६५ मुद्दा, २०७८–७९ मा १४ अर्ब २१ करोड ७५ लाख रुपियाँ बराबरको पाँच हजार ४१६ मुद्दा र २०७९–८० मा ६९ अर्ब १५ करोड ८८ लाख रुपियाँ बजारको १२ हजार १२८ मुद्दा बैंकिङ कसुरमा दर्ता भएको थियो । 

चालु आवको ७ महिनामा सात हजार २८९ मुद्दा दर्ता भएको छ, जसको बिगो रकम १४ अर्ब ४६ करोड ४७ लाख रुपियाँ रहेको छ । 

Advertisement

Advertisement