–कृष्णप्रसाद दुलाल
सञ्चालक, पूर्वाञ्चल ल्यूब आयल (पीएलओ)
नेपालमा लुब्रिकेन्ट (मोबिल) उद्योगको इतिहास करिब तीन दशकको छ । नेपालको लुब्रिकेन्टको कुल बजारमध्ये स्वदेशी उद्योगको हिस्सा ३० देखि ३५ प्रतिशत छ । वास्तवमा, स्वदेशी उद्योगको बजार ५० प्रतिशतभन्दा बढी हुनुपर्ने हो । आयात हुनेसमेत गरी ६०÷६५ वटा लुब्रिकेन्ट ब्रान्ड नेपाली बजारमा सक्रिय छन् । नेपाली उद्योगहरूमध्ये १० वटा राम्रै चलेका छन् । त्यसमध्ये केही प्याकेजिङ उद्योग छन् । कोरोना महामारीपछि आयात गर्ने कम्पनीमध्ये पनि करिब ४० प्रतिशत बन्द भए । विभिन्न कारणले उनीहरू अहिले बजारमा देखिँदैनन् । तर, कोरोना महामारीअघि सयभन्दा धेरै संख्यामा यस्ता लुब्रिकेन्टहरू बजारमा थिए ।
सुरु–सुरुमा स्वदेशी उत्पादनको वृद्धिदर राम्रो रहे पनि पछिल्ला वर्षमा भने स्थिर छ । कोरोना महामारीसम्म समग्र लुब्रिकेन्टको व्यापार राम्रो भए तापनि पछिल्लो समयमा बिक्री भने घटेको छ । यद्यपि, तत्काल घाटा नै हुने अवस्था कुनै पनि सक्रिय ब्रान्डलाई छैन । अहिलेको विषम आर्थिक अवस्थामा घाटा नहुनु पनि खुसीको कुरा हो । तर, आर्थिक मन्दी लम्बिँदै जाँदा डिजेल र पेट्रोलका गाडीको आयात अझै घट्न सक्छ । र, यसको असर लुब्रिकेन्ट बजारमा पनि पर्न सक्छ ।
पछिल्लो समयमा कमर्सियल गाडीको आयात पनि निकै कम भएको देखिन्छ । नयाँ नथपिँदा र पुराना गाडीलाई मात्रै मोबिल बिक्री गर्नुपर्दा व्यापार वृद्धिको अवस्था छैन । लुब्रिकेन्टका लागि आवश्यक कच्चा पदार्थ (बेस आयल्स) उत्पादन नेपालमा हुँदैन । उत्पादन नभएपछि पूर्णरूपमा आयातमै भर पर्नुपर्ने बाध्यता छ । भारतमा पनि यो खनिज वस्तु आंशिक रूपमा (करिब ३० प्रतिशत) मात्रै उत्पादन हुन्छ । विशेषगरी दुबई, कतार, इरान, रुस आदि मुलुकबाट यो वस्तु आयात हुन्छ । त्यसका लागि अमेरिकी ब्रान्डकै एडिटिप्स (रसायन) प्रयोग गर्नुपर्ने हुन्छ ।
खासमा, एडिटिप्स भनेको लुब्रिकेन्ट बनाउने सूत्र हो, जुन अमेरिकाबाहेक अरू कसैसँग छैन । ग्रिज बनाउँदा तताएर, उमालेर, फटाएर र रसायन हालेर तयार गरिन्छ । लुब्रिकेन्ट र ग्रिज बनाउने क्षमताका हिसाबले नेपाली उद्योगको क्षमता धेरै छ । तर, बिक्रीका हिसाबले हेर्ने हो भने चलेका नेपाली ब्रान्ड पीएलओ, गल्फ, कन्ट्रोलको आदिको वार्षिक कारोबार एक अर्बभन्दा बढीको छ । त्यस्तै, अरू पनि चार–पाँच करोडदेखि २०–२५ करोडको व्यापार गर्ने ब्रान्ड छन् । बुटवल, रौतहटमा पनि अरु तीन–चार वटा लुब्रिकेन्टको नयाँ उद्योग खुल्ने क्रममा छन् ।
विदेशी ब्रान्डको प्रभावका बीच पनि नेपाली उद्योगले गुणस्तरीय उत्पादन गरी आफंै राम्रो बजारीकरण गरेर स्थापित हुन सफल भएका छन् । उनीहरूले प्रतिस्पर्धात्मक व्यवसाय गरिरहेका छन् । तुलनात्मक रूपमा नेपाली ग्रिज विदेशीभन्दा बढी गुणस्तरीय भएकाले स्वदेशी उत्पादन बढी प्रयोग हुन्छ । सोही कारण ग्रिजको आयात पनि निकै कम छ । लुब्रिकेन्टमा भने विदेशीभन्दा नेपालीको गुणस्तर कमजोर नभए पनि गाडी कम्पनीले नै सिफारिस गर्ने भएकाले नेपाली लुब्रिकेन्ट जान पाउँदैन् ।
कतिपय बहुर्राष्ट्रिय कम्पनीले एडिटिप्सको प्रयोग बढी गरेर बढी मूल्य राख्छन् भने कम प्रयोग गर्नेले कम मूल्य राखेका हुन्छन् । भिन्नता भनेको मूल्यको मात्रै हो । नेपालमा चाहे त्यो ज्ञानका हिसाबले होस्, चाहे अनुभवका हिसाबले, या त दक्ष जनशक्ति र प्रविधिका हिसाबले नै किन नहोस्, गुणस्तरीय लुब्रिकेन्ट बन्दैन भन्ने रहेन । तर, नेपालमा बनेको उत्पादनलाई ‘नेपालीले बनाएको’ भनेर हेर्ने दृष्टिकोण अझै पनि छ । त्यसलाई चिर्न जरुरी छ । साथै, अहिले नेपाली उत्पादनको गुणस्तरमा कुनै प्रश्न उठेको पनि छैन ।
सरकारले लुब्रिकेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थ बेस आयललाई पहिले तयारी वस्तुका रूपमा हेथ्र्यो । सोही कारण २५ प्रतिशतसम्मको चर्को भन्सार लगाइदिने र कहिलेकाहीँ त धरौटी राख्नुपर्ने बाध्यतासमेत थियो । यसविरुद्ध हामीले धेरै मुद्दा लड्यौं । मन्त्री र सचिवहरूलाई पटक–पटक भेटेर कुरा बुझाएपछि उद्योगले आयात गर्दा बेस आयल नै हुने, त्यसलाई चेकजाँच गर्नु नपर्ने र १५ प्रतिशत भन्सार महसुुल तिरे हुने बनायौं । यो सफलतापछि अहिले सबै उद्योगलाई सहज भएको छ ।
तयारीको हकमा भने ३० प्रतिशत भन्सार लाग्छ । भन्सार महसुलमा १५ प्रतिशतको अन्तर भएकाले नेपाली उद्योगलाई चल्न खासै गाह्रो भएको छैन । यद्यपि, मूल्यमा केही अस्वस्थ प्रतिस्पर्धा भने अहिले पनि नेपाली लुब्रिकेन्ट बजारमा छ । त्यसमाथि विदेशबाट आएका लुब्रिकेन्टससँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । यसमा सुधार जरुरी छ ।
पछिल्लो समयमा ईभी (विद्युतीय सवारी साधन) को प्रयोग बढ्न थालेपछि भविष्यमा लुब्रिकेन्टको बजार हुन्न कि ? भन्ने चिन्ता उद्योगीमा छाएको छ । वास्तवमा त्यो चिन्ता लिनुपर्ने विषय होइन । ईभी बढी प्रयोग हुने भनेको निजी सवारीसाधनमा हो । व्यावसायिक र कृषि क्षेत्रमा डिजल तथा पेट्रोलकै गाडीहरू चल्ने देखिन्छ । यसले लुब्रिकेन्ट आयातमा कमी भए पनि नेपाली उद्योगलाई खासै समस्या पर्दैन ।
लुब्रिकेन्ट व्यवसायको एउटा राम्रो पक्ष के पनि छ भने। यो कहिले पनि बिगिँ्रदैन, म्याद गुजिँ्रदैन । नेपाली लुब्रिकेन्टरूले आ–आफ्नो हैसियतअनुसार देशभर डिलरहरू खोलेका छन् । नेपालको समग्र अटोमोबाइल उद्योगभित्र लुब्रिकेन्टको महत्वपूर्ण स्थान छ । पहिलोमा आयायित गाडी, दोस्रोमा स्पेयर पाट्र्स, तेस्रोमा टायर र चौथो स्थानमा लुब्रिकेन्ट नै छ । आयात र स्वदेशी उद्योगको जोड्दा वार्षिक २५ अर्बको कारोबार लुब्रिकेन्ट बजारमा हुन्छ । यो निर्माणदेखि कृषि उपकरण, जलविद्युत् आयोजनामा समेत प्रयोग हुने मोबिल एकपटक प्रयोग भइसकेपछि अन्य क्षेत्रमा पुनः प्रयोग हुन्छ । त्यसकारण यसको भविष्य छैन भन्ने होइन ।
हामीले के बुझ्नुपर्छ भने, स्वदेशी लुब्रिकेन्ट उद्योग विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी विकास भइरहेका छन् । यहाँ बेस आयल उत्पादन नहुने भएकाले नेपाली कम्पनीहरू बहुराष्ट्रिय कम्पनीका रूपमा विकास भएर निर्यात गर्न भने कठिनाइ छ । हामीले बेस आयल ल्याएर गरेको उत्पादन भारतलगायत जुनसुकै देशमा पनि गुणस्तर पास भएका छन् । पास नभएको मूल्य मात्रै हो ।
कतिपय देशमा आयात गर्ने उनीहरूको नीति नै कडा हुन्छ । तयारी वस्तु आयात गर्न अलि सहज भनेको नेपालमा मात्रै हो । यसकारण नेपाली कम्पनीको व्यवस्थापन क्षमता, जनशक्ति व्यवस्थापन, मापदण्डको पालना, नियमानुसार कर तिर्ने र व्यावसायिक ढंगले सञ्चालन गर्ने काम नेपाली उद्योगहरूले गर्दै आएको छन् । यिनीहरूले नै कर्पोरेट कल्चरको विकास गरेका छन् ।
पीएलओ कसरी आयो ?
लुब्रिकेन्ट व्यवसाय सुरुवात गर्दा सानो बट्टा डिजाइन गर्दै ड्रममा ल्याएर प्याक गरेर बेच्दै अहिलेको अवस्थासम्म आइपुगेको हो । पीएलओ आउनुअघि नै हामीले यस क्षेत्रमा काम गर्दै आएको हौं । पछि डिस्ट्रिब्युटर लिएर पनि काम ग¥यौँ । त्यसपछि मात्रै पीएलओको उत्पादन सुरु भएको हो । यही क्षेत्रमा मैले लामो संघर्ष गरेको, भिजेको, अनुभव हासिल गरेको र नाडा अटोमोबाइल एसोसिएसनको समेत नेतृत्व गर्ने मौका पाउँदा लुब्रिकेन्टको करको विवाद समाधान गर्न सफल भएँ । म गर्वका साथ भन्छु, यदि नाडामा मेरो प्रतिनिधित्व नभएको भए पीएलओ उद्योग हुँदैनथे, बन्द नै हुन्थे । नाडामा प्रतिनिधित्व गर्नेको पनि त्यति धेरै जरुरी र महत्व रहेछ भन्ने त्यतिबेलै बुझेँ ।
कच्चा पदार्थ बेस आयल होइन, तयारी वस्तु हो भनेर कर लगाइदिने र पीएलओसहित धेरै उद्योग डुबाइदिने सरकारको योजना थियो । त्यो योजनालाई विफल बनाउन सकियो । सबै लुब्रिकेन्ट कम्पनीमध्ये धेरै कर तिर्ने कम्पनीमा पीएलओ पर्छ । यही कम्पनीले छिटै नै सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) पनि गर्न लागेका छौं
कर्पोरेट नेपालको दसौं वार्षिकोत्सवमा प्रकाशित जर्नल बुक ‘कर्पोरेट कल्चर’बाट ।