चार दशक काटिसक्दा पनि बजारको अझै सन्तोषजनक विकास हुन नसक्नु भनेको सरकार, नियामक निकायको कमजोरी हो ।

चार दशक बित्दा पनि अपरिपक्व पुँजी बजार

Advertisement

–राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

विसं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पुँजी बजार ‘ओपन क्राई सिस्टम’ देखि अर्धस्वचालित प्रणाली पार गर्दै आजको अभौतिकीकरण कारोबारको अवस्थामा आइपुगेको छ । तर, अझै हाम्रो पुँजीबजार पूर्ण विकसित हुन सकिरहेको छैन । अहिलेसम्म पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुन नसक्नु विडम्बना हो । अहिलेको २१औं शताब्दीको आवश्यकता र मागअनुरूपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने पुँजी बजारको विकास गर्न धेरै काम गर्नुपर्ने देखिन्छ । आर्थिक विकासका लागि पुँँजीबजारको विकास अपरिहार्य छ । चार दशक काटिसक्दा पनि बजारको अझै सन्तोषजनक विकास हुन नसक्नु भनेको सरकार, नियामक निकायको कमजोरी हो । यस विषयमा आम लगानीकर्ता र सबै सरोकारवाला पनि जागरुक र सचेत भएर सुधार र विकासका लागि दबाब दिन जरुरी छ । 

Advertisement

पुँजी बजार भनेको देशको ऐना हो । पुँजी बजारमा देशको अर्थतन्त्र प्रतिबिम्बित हुन्छ । यसको विकास र विस्तारका लागि हामीले उठाएका र सम्बन्धित निकायमा बुझाएका ५८ बुँदे माग पूरा गर्ने सहमति सरकारी पक्षबाट भएको छ । यी मागमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सम्बोधन गर्ने कुरालाई वर्गीकरण गरिएको छ । सहमति भएअनुसार काम हुने हो भने सुधार र परिवर्तन गर्न सकिन्छ । सहमति कार्यान्वयनका लागि ठोस कदम चाल्नेभन्दा पनि समिति, उपसमिति बनाएर समय खेर फाल्ने कुराले बजारप्रति लगानीकर्ताको भरोसा टुट्दै गएको देखिन्छ । जायज मागको समयमै सम्बोधन नहुँदा र सम्बन्धित निकाय आफ्नो जिम्मेबारीबाट विमुख रहँदा पुँजी बजार धराशायी हुँदै गइरहेको छ । 

बजारलाई प्रविधिमैत्री बनाई स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने आजको टड्कारो आवश्यकता हो । लगानीकर्तालाई पनि प्रविधिमा अभ्यस्त बनाउनुपर्ने जरुरी छ । उनीहरूको हकहित संरक्षण गर्दै, संस्थागत सुशासन कायम गर्नुपर्ने र पुँजी बजारको जोखिमलाई न्यूनीकरण गर्दै जानुपर्ने देखिन्छ । तर, बजार भरपर्दो हुन सकिरहेको छैन । यसबाट साना लगानीकर्ता बढी प्रभावित छन् । लगानीकर्ता समस्यामा पर्दा बलेको आगोमा घिउ थप्ने काम कसैले पनि गर्नुहुँदैन । सरकारको अग्रसरतामा बजारको समस्या र त्यसको सम्बोधनको प्रयास गर्नुपर्छ । संकट परेका बेला उद्धार र राहत प्रदान गर्न सक्नुपर्छ । अरु देशमा समस्या आउनासाथै सरकारले अग्रसरता देखाई समस्यालाई निराकरण गर्दछ । नेपालमा त्यो छैन । पहिलो कुरा त पुँजी बजारप्रति कतिपय राजनीति दल र नेताहरूको नै स्पष्ट र सकारात्मक धारणा देखिन्न । गलत ढंगले यसलाई चित्रण गर्छन् । त्यसको प्रभाव पनि बजारमा पर्ने गरेको छ । 

शेयर बजारलाई विभिन्न कुराले प्रत्यक्ष–परोक्ष प्रभावित बनाएको हुन्छ । सोही प्रभावले गर्दा बजार घट्ने र बढ्ने गर्दछ । देशको राजनीतिक अवस्था, राष्ट्रिय–अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति, प्राकृतिक प्रकोप, वित्तीय क्षेत्रमा तरलता संकुचन, सरकारको पुँजी बजारलाई हेर्ने दृष्टिकोण, नीतिगत परिवर्तन, अफवाहजस्ता कुराले बजारलाई प्रभावित बनाउने गरेको देखिन्छ । हाम्रो पुँजी बजारमा पछिल्लो समय एउटा समस्या देखिन थालेको छ । बजारमा नयाँ–नयाँ कम्पनी थपिने क्रम तीव्र छ । सोही अनुपातमा शेयर संख्या पनि थपिँदै छ । पुराना कम्पनीलाई बिनाअध्ययन तथा विश्लेषण बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्न दिँदा पनि शेयर संख्या बढी भएको हो । सूचीकृत कम्पनीहरूको आम्दानी घट्दै जाने, तर बजारमा शेयर थपिँदै जाने कुराले नकारात्मक असर परिरहेको छ । मागभन्दा आपूर्ति बढी हुँदा असन्तुलन भएको छ । यसले बजारको विकास एवं विस्तारमा प्रतिकूल असर परेको छ । साथै, बैंकिङ क्षेत्रको तरलताका कारण पनि पुँजी बजारमा नकारात्मक असर पर्छ । त्यस्तै, लगानीकर्ताको अर्को टाउको दुखाइको विषय भनेको ‘मार्जिनकल’ पनि हो । कहिलेकाहीँ बैंकहरूले लगानीयोग्य पुँजीको कृत्रिम भूत देखाई बेलाबेलामा शेयर बजारमा चलखेल हुने गर्छ । 

बजार पूर्वाधारको सुधार तथा विकासका लागि पछिल्लो समय नेपाल धितोपत्र बोर्डले उल्लेख्य सुधार तथा विकासका प्रयास गरेको छ । यसबाहेक पुँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरू अझै सुधार गर्नुपर्ने छ । साथै, प्रशिक्षण तथा जनचेतना अभिवृद्धिलाई क्रमिक रूपमा बढाउँदै लानुपर्ने देखिन्छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि बजारमा आउन चाहने लगानीकर्ता हच्किनुपर्ने स्थिति छ । एकातिर शेयर साक्षरताको अझै कमी छ भने अर्कातिर लगानीकर्ताको अपेक्षा धेरै छ । विगतमा शेयरको कुरा सुन्नेबित्तिकै नाक खुम्च्याउने चलन थियो । तर, त्यस्ता मान्छेले नै पछिल्लो समय चासो देखाउन थालेका छन् । अनलाइनमार्फत आईपीओ भर्न सकिने र कारोबार गर्न सकिने व्यवस्थासँगै मानिसको चासो निकै बढेको थियो । बीचमा त्यो शिथिल देखिएको छ । खासमा, शेयर बजारलाई कता डो¥याउने ? लगानीकर्ताको मनोविज्ञानले तय गर्ने कुरा हो । बजार बढ्दा लगानीकर्ताले ‘कुम्ल्याए’, घट्दा ‘गुमाए’ भन्ने खालका नकारात्मक समाचार सम्प्रेषण हुँदा लगानीकर्ता भ्रमिक बन्दै आएका छन् । यस्ता कुरालाई रोक्न पनि नियमक चनाखो हुनु जरुरी छ । 

त्यस्तै, निरन्तर घट्दो बजारमा सुधार सुरु भएर दुई–चार दिन बजार बढेसँगै केही ‘पण्डित’ हरू अनर्गल हल्ला गर्न थाल्छन् । अरू बेलामा गुमनाम रहने र मौका हेरेर ‘अब नेप्सेले यति सय चुम्छ, बजार ‘बुम’ हुन्छ’ जस्ता कुरा गरी खर्बौंको बजारसँग लंगरबुर्जा खेलेजस्तो गर्ने प्रवृत्ति छ । यसलाई कसरी निरुत्साहित गर्ने भन्ने विषयमा नियामकहरू पनि गम्भीर भएको देखिन्न । शेयर बजार भनेको दुई दिनको बजार होइन । दुई–चार दिन बजार बढ्दैमा संसार नै जितिने, घट्दा सर्वस्व सकिने पनि होइन । शेयर बजारको आफ्नै लय हुन्छ । आफ्नै चाल हुन्छ । विभिन्न परिस्थितिले बजारलाई प्रभावित पारिरहेको हुन्छ । शेयर बजारमा लगानीकर्ताका दुई प्रमुख शत्रु हुन् लोभ र डर वा त्रास । यसबाट हामी सदैव टाढा बस्नुपर्छ । 

लोभ– बजार बढ्दा अब सधैं बढ्छ, बढि नै रहन्छ भन्ने सोच कसैले पनि राख्न हुन्न । कुनै बेला घट्छ पनि भनेर सोच्नुपर्छ । 
डर र त्रास– बजार घट्दा अब सँधै घट्छ । घटि नै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने विश्वास हुँदैन । बजार सधैं बढ्दैन । र, सधैं घट्दैन पनि । बढेपछि घट्छ । घटेपछि बढ्छ । बजारका यी दुई प्रमुख शत्रु चिनेर समयअनुसार चल्ने लगानीकर्ताले नै बजारबाट कमाउने हो, टिकिरहने हो । जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती अवश्य हुन्छ । शेयर बजारलाई जति अवसरको खानीको रूपमा लिइन्छ, त्यसमा चुनौती पनि हुन्छन् । यो हामीले बिर्सनुहुँदैन । 

आफूसँग भएको राम्रो कम्पनीको शेयर मूल्य सोचेजस्तो नबढ्ने, तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीव्र गतिले बढ्दा लगानीकर्ताले गलत कदम उठाउँछन् । आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई सुन सम्झी पोर्टफोलियो परिवर्तन गर्नेहरू धेरै भेटिन्छन्, जुन सबैभन्दा घातक पनि हुन सक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानीकर्ता पनि उत्तिकै छन् । आफूसँग भएको धातु सुन हो कि होइन ? आफंैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै ‘मुख्याइँ’ हुन जान्छ । आफूले संस्था बलियो र दिगो छानेर कम जोखिमरहित लगानी गर्नुपर्छ ।
युवा सिंगो देश बोक्न सक्ने मेरुदण्ड हो । ऊर्जाशील युवाशक्तिले नै भोलिका दिनमा सबै क्षेत्रको नेतृत्व लिने हो । त्यसैले युवाहरू शेयर बजारमा आबद्ध हुन जरुरी छ । किन ? 

–    युवावस्थामा कमाउन नसकिएला । तर। यो बेलाको सञ्चिति नै कमाइ हो भन्ने कुरा युवालाई सिकाउन जरुरी छ । 
–    युवा अवस्थामा मानिस कुलतमा लाग्ने सम्भावना हुन्छ । यो भनेको उनीहरूलाई विकल्प नहुँदा वा व्यस्त नहुँदाको परिणाम हो । उनीहरूका लागि शेयर बजार विकल्प हुन सक्छ । 
–    थोरै रकमले व्यापार÷व्यवसाय गर्न सकिन्न । तर, सानोभन्दा सानो बचत पनि शेयरमा लगाएर आम्दानी गर्न सकिन्छ ।
–    सुरुमै धेरै कमाउन नसकिएला । तर, यो समय कमाउनेभन्दा पनि सिक्ने, बुझ्ने, अभ्यस्त हुने बेला हो । 
–    पढाइमा धेरै समय खर्चिनुपर्ने हुँदा अन्य कामका लागि समय हुँदैन । शेयर बजारमा थोरै समय दिएर पनि लाभ लिन सकिन्छ । 
–    पत्रपत्रिका, सामाजिक सञ्जाल, साथीभाइबाट पनि शेयर बजारबारे जानकारी लिन सकिन्छ । 
–    युवा अवस्थामा खर्च गर्ने मात्र थाहा हुन्छ । आम्दानी र बचतमा अरूको भर पर्नुपर्ने अवस्था हुन्छ । यही बेलादेखि युवाले आम्दानी, खर्च, बचत र यसको व्यवस्थापनबारे ज्ञान पाए भने अभिभावकमा पनि आर्थिक भार कम हुन जान्छ ।
–    पछिल्लो समयमा आएर शेयर बजारमा युवाको संलग्नता बढ्दै गएको पाइन्छ । फजुल खर्च कटाएर लगानी गर्ने गरेको पाइन्छ, जुन राम्रो पक्ष हो । 
–    विद्यार्थीलाई विद्यालय तहदेखि नै शेयर बजारको ज्ञान दिन जरुरी छ । पाठ्यक्रममा पनि यसलाई समावेश गर्न जरुरी छ । 

शेयर बजार सुधारका सूत्र
सरकार र नेपाल धितोपत्र बोर्डले आफ्ना मातहतमा रहेका निकायलाई काम गर्न दबाब सिर्जना गरिदिने र कडा निर्देशन गरिदिने हो भने हाम्रो शेयर बजार आधुनिक, प्रविधिमैत्री, अन्तर्राष्ट्रियस्तरको र सबैको पहुँचमा पुग्न सक्थ्यो । सरकार र नियामक निकायले बेलाबेलामा गलत निर्णय र गलत अभिव्यक्तिका कारण लगानीकर्तामा अन्यौलता सिर्जना भई शेयर बजार बारम्बार कोमामा पुगेको कुरा सर्वविदितै छ । लगानीकर्ताको भावनामा गम्भीर असर पर्दै पुँजी बजारप्रति नकारात्मकता बनाएको पाइन्छ । बजार विस्तारको काम कार्यान्वयनमा देखिएको कमजोरी र रणनीतिक काम अवरुद्ध हुँदा पुँजी बजारमा बेलाबेलामा गम्भीर समस्या ल्याउने गरेको छ । त्यसले लगानीकर्तामा निराशा पैदा गरेको छ । 

पचास लाखभन्दा बढी लगानीकर्ताको सम्पत्तिको सुरक्षामा गम्भीर चुनौती देखापर्ने गरेको छ । त्यसकारण सरकारले पनि पुँजी बजारप्रति हेर्ने दृष्टिकोण स्पष्ट र सकारात्मक हुनुपर्छ । शेयर बजारसम्बन्धी नीति प्रस्ट आउनुपर्छ । नियामन निकायले दोहोरो अर्थ लाग्ने गरी नीति ल्याउँदा ‘हामीलाई कहाँ लैजान खोजेको हो ?’ भनेजस्तो लाग्छ । नियमन निकायले सामाजिक सञ्जालमा भ्रम छरी नवप्रवेशी लगानीकर्तामा आतंकित गर्ने, गलत तथ्य देखाएर अन्योलमा पार्ने, ‘कर्नरिङ र म्यानुपुलेसन’ गर्ने व्यक्ति एवं संस्थालाई हदैसम्मको कारबाही गर्नुपर्छ ।  

सयौं वर्षदेखिको नेपालको गरिबी रातारात अन्त्य हुन सम्भव छैन । गरिबी र बेरोजगारी हटाउन नयाँ सोच चाहिन्छ । राजनीतिक आन्दोलन गर्न सजिलो हुन्छ । तर, आर्थिक विकास गर्न र जनताको जीवनस्तर सुधार गर्न गाह्रो छ । आर्थिक विकासले गति लिन नसक्दा प्रायः सबैमा निराशाको बादल देखिएको छ । देशमै सम्भावना नदेखेर युवा पलायन बढ्दो छ । नेपालको आर्थिक रूपान्तरणसँग जोडिएका प्रमुख मुद्दामा सफल हुन केवल नारा लगाएर हुँदैन । सरकारको नीति र कार्यक्रममा लेखेर पनि हुँदैन । त्यसलाई कार्यान्वयन गर्न सक्ने खुबी पनि चाहिन्छ । सरकारको सोच र इच्छाशक्तिमा नै धेरै कुरा निर्भर छ । 

अतः आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य छ । लामो समय बितिसक्दा पनि बजारको अझै सन्तोषजनक विकास हुन नसक्नु दुःखद पक्ष हो । अब शेयर बजारमा अनावश्यक कस्ने भन्दा पनि समयानुकूलको नीति ल्याएर चलायमान बनाउन मार्ग प्रशस्त गरिदिनुपर्छ । कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्छ । नेपालमा जुनसुकै लगानी आकर्षित गर्न सबैभन्दा पहिला आर्थिक नीति समयानुकूल बनाउनुपर्छ र त्यसलाई उल्ट्याउने काम बारम्बार हुन्न भन्ने कुराको विश्वास विश्वजगत्लाई हुनुपर्छ । 

Advertisement