अहिले होटलहरू खासमा चलेको भनेको ‘बिजनेस टुरिजम’ ले नै हो । ठूला तारे होटलमा ‘बिजनेस’ पर्यटकको हिस्सा सानो भए पनि महत्वपूर्ण छ ।

नेपालका होटलहरूको स्तर र पर्यटन क्षेत्र

Advertisement

–राजन शाक्य
सीईओ, काठमाडौं गेस्ट हाउस (केजीएच)
नेपालको पर्यटनलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ । एक: साहसिक पर्यटन, दुई: धार्मिक अर्थात् आध्यामिक पर्यटन र तीन: व्यावसायिक (बिजनेस) पर्यटन ।  साहसिक पर्यटनमा हिमाल आरोहण, पदयात्रा, जंगल सफारी, र्याफ्टिङ, प्याराग्लाइडिङ आदि पर्छन् । यसमा हामी पोख्त नै भइसकेका छौं । हिमाली क्षेत्रको पर्यटनमा शेर्पा समुदायको भूमिका महत्वपूर्ण छ । हिमाल आरोहण र पदयात्राजस्ता साहसिक पर्यटनमा शेर्पाहरूको पेसा, उहाँहरूको ब्रान्ड विश्वभर नै परिचित छ । अलास्कादेखि अन्टार्कटिकामा शेर्पाले गाइडिङदेखि सुरक्षाको भूमिका निर्वाह गर्दै आएका छन् ।

त्यस्तै, आध्यात्मिक पर्यटनमा पशुपति, बौद्ध, लुम्बिनी, मुक्तिनाथ आदि ठाउँको दर्शन गर्ने उद्देश्यले आउने पर्यटकको संख्या धेरै छ, जसको सम्भावना ठूलो छ । धार्मिक दृष्टिकोणले नेपाल पवित्र ठाउँका रूपमा पनि परिचित छ । यहाँ भगवान् गौतम बुद्धको जन्मदेखि ऋषिमुनीले तपस्या गरेका ठाउँ छन् । विश्वभरका हिन्दू तथा बौद्धमार्गीहरूका लागि नेपाल भ्रमण गर्नैपर्ने ठाउँको रूपमा विकास गर्नसकिने सम्भावना छ । बिजनेस टुरिजम भन्नाले नेपालमा विभिन्न विकास परियोजना, अध्ययन, बैठक, सम्मेलन, कूटनीतिक भ्रमणका लागि विभिन्न मुलुकबाट आउने पर्यटक हुन् । विशेषगरी जलविद्युत् आयोजनाका लागि आउने विदेशीहरू विगत छ–सात वर्षदेखि धेरै नै छन् । सबै प्रकरणका पर्यटकलाई खानपानको प्रबन्ध नेपालका होटल, रिसोर्ट, लज, रेस्टुरेन्टले गर्छन् । 

Advertisement

अहिले होटलहरू खासमा चलेको भनेको ‘बिजनेस टुरिजम’ ले नै हो । नेपालमा अहिले विभिन्न प्रयोजनका लागि विदेशी सरकारी प्रतिनिधि, विदेशी कम्पनीका प्रतिनिधि आइरहेका हुन्छन् । एउटा उदाहरणका लागि अमेरिकी अनुदान परियोजना ‘एमसीसी’ कार्यान्वयनका लागि अमेरिकीहरू आइरहेका छन् अहिले । यस्ता अमेरिकी प्रतिनिधि नेपालमा आउँदा राम्रै होटलमा बस्छन् । हरेक कुरामा उनीहरू गुणस्तर हेर्छन् । नेपालका ठूला तारे होटलमा प्रायः देखिने पर्यटक भनेका यस्तै हुन् । होटलको ‘अकुपेन्सी’ विदेशी प्रतिनिधि, विदेशी कम्पनी, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका मानिसहरूले ओगटेका हुन् ।

यस्ता खालका ‘बिजनेस’ पर्यटकलाई ‘सिजन’ ले पनि खासै प्रभाव पार्दैन । जुनसुकै समयमा पनि उनीहरू आउने/जाने भइरहेको हुन्छ । आउँदा स्तरीय होटलमा बस्छन् । ठूला तारे होटलमा ‘बिजनेस’ पर्यटकको हिस्सा सानो भए पनि महत्वपूर्ण छ । अहिले पनि जलविद्युत् क्षेत्रमा काम गर्ने थुप्रै मानिस छन् । एक हजारभन्दा धेरै चिनियाँ नागरिक व्यवसाय गरेर बसेका छन् । उनीहरू सबै होटलमा नबसे पनि अपार्टमेन्ट लिएर बसेका छन् । जहाँ बसे पनि पर्यटक नै हुन् । 

अस्वस्थ प्रतिस्पर्धाले नोक्सान
नेपालमा पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि त्यसको लाभ लिन हामीले सकेका छैनौं । त्यसको कारण अस्वस्थ प्रतिस्पर्धा पनि हो । नेपाल सस्तो गन्तव्यका रूपमा विकास भएको छ । मेरो होटलले कुनै सेवा सय रुपियाँमा बिक्री ग¥यो भने अर्कोले त्यही सेवा ९० रुपियाँमा बिक्री गर्छ । उसले यो सोच्दैन कि सेवालाई ११० रुपियाँमा कसरी बेच्ने ? यो प्रवृत्तिले हामीलाई ठूलो नोक्सान गरिरहेको छ । त्यसकारण हामीले पर्यटक आगमनलाई संख्यात्मकभन्दा पनि गुणात्मक दृष्टिले हेर्नुपर्छ । अरू देशले करोडौं पर्यटक भित्राए, हामीले भित्राउन सकेनौं भन्दा पनि हामीले कुन स्तरका पर्यटक भित्राउँछौं ? त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ । उनीहरूलाई स्तरीय आतिथ्य सेवा दिन नेपालका होटल सक्षम छन् । यहाँका होटलहरूबीच सस्तोमा सेवा दिने समस्या रहे पनि स्तरीय सेवा प्रवाहमा भने समक्ष नै देखिन्छन् । मेरो काठमाडौं गेस्ट हाउसमा आउनुहोस् वा अरू कुनै पाँचतारे होटलमा जानुस्, विदेशमा भएका कुनै पनि पाँचतारे होटलमा भएको सेवा सुविधाभन्दा कम छैन । 

हामीसँग क्षमता छ । नयाँ स्तरीय होटल थपिने क्रम पनि जारी छ । होटल तथा रिसोर्टमा ठूलो लगानी भइरहेको छ । निजी क्षेत्र सबल भएकाले नै यति धेरै होटल र रिसोर्ट आएका हुन् । सोहीकारण नै अन्तर्राष्ट्रिय ब्रान्डका चेन आएका छन् । रेस्टुरेन्ट र नाइट क्लबहरू खुलिरहेका छन् । पर्यटन क्षेत्रका लागि चाहिने नयाँ नयाँ ‘प्रोडक्ट’ आएका छन् । ती ‘प्रोडक्ट’ उचित मूल्यमा बिक्री गर्न भने हामीले सकेका छैनौं । गुणस्तरीय पर्यटक भित्राउन भने पहल भएको छैन । सरकारको तर्फबाट भौतिक पूर्वाधार बनेको छैन । हामी ठमेल, पोखरा, सौराहा जहाँ जाँदा पनि खानामा स्तर हुन्छ । स्तर भएन भने त्यो चल्न पनि सक्दैन । सेवाको स्तर र खानाको गुणस्तरमा हामी अरूभन्दा कम छैनौं । राजमार्गमा यात्रा गर्दा भेटिने छेउछाउका होटल र रेस्टुरेन्ट सबैमा गुणस्तरीयता छैन । यद्यपि, राम्रो र स्तरीय सेवा दिने पनि छन् । छनौट गर्दा र गराउँदा विचार गर्नुपर्छ । मुग्लिङमा २५० रुपियाँमा पेटभरि खाना खान पाइन्छ भने कुरिन्टारमा नदी किनारमा बसेर एक हजार रुपियाँमा थाली पनि पाइन्छ । एकतारे स्तरको होटलमा गएर पाँचतारे स्तरको होटलको सेवा खोज्न पनि मिल्दैन । छनौट कस्तो गर्ने ? त्यो व्यक्तिको इच्छा र खर्च गर्ने कुरामा भर पर्छ । 

कतिपय होटलले राम्रो बिक्री पनि गरिरहेका छन् । कतिपय पर्यटक यस्ता पनि छन्, जो नेपाली ट्रेकिङ कम्पनी र ट्राभल कम्पनी नै प्रयोग गर्छन् । क्षमता भएर नै उनीहरूमार्फत पर्यटक आएका हुन् । हप्ताकै १५ हजारसम्म तिरेर उनीहरू आउँछ । द्वारिकाज होटलमा दिनकै ४–५ सय डलर तिरेर बसेका हुन्छन् । नेपालका होटल र ट्राभल एजेन्सीको क्षमता नभएको भए उनीहरू किन बारम्बार आउँथे ? नयाँ कतिपय होटल एउटै रुम ३०–४० हजारमा बिक्री गरेको देखिन्छ । राम्रो सेवा दिएर उनीहरूबाट अधिकतम आम्दानी गर्न सक्दा त्यसले देशको आर्थिक विकासमा पनि सहयोग पुग्छ, समग्र पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पुग्छ । तर, सेवा दिने स्तरमा भने होटल र रिसोर्टहरूले कन्जुस्याइँ गर्न हुँदैन । 

नेपालको ‘प्रोडक्ट’ मूल्य माथि गइरहेको कुरालाई झन् एउटा पे्ररणाको हिसाबमा लिनुुपर्छ । कुनै विदेशी पाहुना खुसी भएर एक रातको ५० हजार तिर्छ भने त्यसलाई महँगोका रूपमा हेर्नेभन्दा पनि हाम्रो सेवाको स्तर बढेको रूपमा हेर्नुपर्छ । होटलको आम्दानी घटेका कारण उसले कर्मचारीलाई राम्रो तलब सुविधा दिन नसकेको हुन सक्छ । सोहीकारण युवाहरू विदेश पलायन भएका हुन सक्छन् । तर, जब आम्दानी बढ्छ, होटलले पक्कै कर्मचारीलाई राम्रो सेवा सुविधा दिन्छ । होटलले पनि आफ्नोमा राम्रो काम गर्ने सीपयुक्त जनशक्तिलाई प्रोत्साहन नै गर्नुपर्छ ।  

होटलमा थपिँदै लगानी
होटलमा लगानी आउनुका विभिन्न कारण छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने, सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले जहाज थप्ने, निजी क्षेत्रबाट पनि हिमालय एयरलाइन्स सञ्चालनमा आउने, विदेशी वायुसेवा कम्पनीहरूले पनि नेपालमा उडान सञ्चालनका लागि चासो देखाउने क्रमसँगै आगमन आगामी दिनमा बढ्ने अनुमान पनि एउटा हो । कतिपय व्यापारिक घरानाले आफ्नो समूहको व्यापार अन्यन्त्र नजाओस् भन्नका लागि पनि होटलहरू बनाउने, किन्ने गरेको देखिएको छ । पक्कै पनि सम्भावना देखेर नै उनीहरूले अर्बौं लगानी गरेका होलान्, चेनहरू आइरहेका होलान् लाग्छ । हाम्रै केजीएच समूह लामो समयदेखि होटल क्षेत्रमा छ । स्थानीय व्यवस्थापनमा पनि ३÷४ तारे स्तरका होटलहरू सञ्चालन गर्दै आएका छौं । होटलमा अन्तर्राष्ट्रिय ब्रान्ड आउँदैमा स्थानीय लगानी र स्थानीय व्यवस्थापनका होटललाई चुनौती छैन, डराउनु पर्दैन ।

पर्यटन पूर्वाधार ठूलो चुनौती 
वास्तवमा पर्यटन क्षेत्रप्रति सरकारले जिम्मेवारी पूरा गरेको छैन । पर्यटन क्षेत्रका लागि चाहिने पूर्वाधार बनेको छैन । राजमार्गहरू पुनर्निर्माण गर्दा वर्षौंसम्म अवरोध हुने गरेको छ । न हामीसँग रेलमार्ग छ, न द्रुतमार्ग छ । स्थलमार्गबाट यात्रा गर्दा अरू देशमा एक घण्टामा पुगिने ठाउँमा पुग्न हाम्रोमा ६÷७ घण्टा लाग्छ । कहिले सडक विस्तारका नाममा कहिले पहिरो, कहिले दुर्घटनाका कारण अवरोध हुने गर्छ । हवाई सेवा भए पनि विमानस्थलहरूको अवस्था राम्रो छैन । त्यसमाथि अहिले होटलदेखि हवाई टिकटसम्ममा सरकारले कर बढाउने काम गरेको छ । सरकारले जिम्मेवारी पूरा गरेर कर बढाएको भए तर्कसंगत हुन्थ्यो । तर, त्यसो भएन । यो देशमा सामान्य मानिसले आफ्नो जिम्मेवारी पूरा गरेको छ । तर, राजनीतिक क्षेत्रबाट हुनुपर्ने काम भएन । 

आन्तरिक पर्यटक सशक्त विकल्प 
नेपालको पर्यटन क्षेत्र जोगाउन भनेको आन्तरिक पर्यटन नै बलियो आधार हो । कोरोना महामारीका बेला सन् २०१९ देखि २०२३ सम्म आन्तरिक पर्यटक नभएको भए नेपालको पर्यटन क्षेत्र धराशायी नै हुन्थ्यो । होटल तथा रेस्टुरेन्ट बन्द हुन्थे । अहिले पनि ठमेल, पोखराका रेस्टुरेन्ट हेर्ने हो भने विदेशीभन्दा नेपाली बढी देखिन्छन् । पोखराका होटलहरू धेरैजसो नेपालीहरूले नै चलेका हुन् । पदमार्गमा रहेका होटल, लज र रेस्टुरेन्ट नेपालीहरू गएकाले नै चलेका हुन् । नेपालीमा पनि घुम्ने, रेस्टुरेन्ट जाने, पदयात्रामा जाने, तनाव कम गर्न होटलमा गएर एक–दुई रात बस्ने चलन बढ्दो छ । आफ्नो कार्यालयबाट वा साथीहरू मिलेर यात्रामा जाने, साहसिक खेल खेल्न रमाउने चलन पनि त्यत्तिकै बढेको छ । त्यसले गर्दा होटल र रेस्टुरेन्ट सञ्चालनमा ठूलो सहयोग पुगेको छ । आर्थिक गतिविधि बढाउन मद्दत पुगेको छ । त्यसकारण हामीले बाह्य पर्यटनलाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनलाई पनि प्रोत्साहित गर्नुपर्छ । आन्तरिक पर्यटनले देश बाहिर पैसा जाँदैन । यसले त नेपालमै रोजगारी बढाउँछ, व्यावसायिक गतिविधि बढाउँछ । अहिले सामाजिक सञ्जालले गर्दा पनि आन्तरिक पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा सहयोग पुगेको छ । रारादेखि इलामको चियाबगानसम्म घुम्नेहरू फेसबुक, इन्टाग्राममा फोटो पोस्ट गर्छन् । त्यसले अरूलाई पनि घुम्न प्रेरित गर्छ । लज र रेस्टुरेन्टमा विदेशीभन्दा नेपाली जाँदा खुसी हुने गरेको देखिन्छ । 

कसरी कस्ता पर्यटक बढाउने ?
पर्यटक बढाउन निजी क्षेत्र आफंै पनि लाग्नुपर्छ । नेपालको परिस्थितिमा सरकारबाट धेरै कुरा आशा गर्न सक्ने अवस्था छैन । त्यसकारण आतिथ्यता क्षेत्रका हरेक कम्पनीले व्यावसायिक योजना बनाएर काम गर्नुपर्ने देखिन्छ । आफ्नो क्षमता विकास गर्नुपर्छ । यस क्षेत्रमा लाखौं मानिस कार्यरत छन् । होटलसँग गाउँका किसानदेखि सूचना प्रविधि (आईटी) मा काम गर्ने कर्मचारीसम्मका परिवार प्रत्यक्ष–परोक्ष आश्रित भएको हुन्छ । उनीहरूप्रति पनि होटलले न्याय गर्नुपर्ने हुन्छ । त्यसकारण होटल व्यवसायलाई कसरी सक्रिय बनाउने ? भन्ने कुरामा हामी आफंै लाग्नुपर्छ, प्रचारप्रसार गर्नुपर्छ । एकपटक आएको पर्यटक पुनः फर्किएर आउने वातावरण बनाउनुपर्छ । मलेसिया, थाइल्यान्डजस्ता मुलुकमा झैं नेपालमा समुन्द्री किनार (बिच) छैन । हाम्रा यिनै हिमाल, पहाड र सगरमाथा देखाउने हो । लुम्बिनी, पशुपतिनाथ, काठमाडौंको कला संस्कृति नै देखाउने हो । यही चिजलाई हामीले धेरै मानिस ल्याएर सस्तोमा बिक्री गर्ने कि थोरै मानिस ल्याएर महँगोमा बिक्री गर्ने ? भन्ने मात्रै प्रश्न हो । नेपालका हिमाल, पहाडमा पदयात्रामा जाँदा असनमा जस्तो भीड हुन थाल्यो भने त्यसको आकर्षण रहँदैन । सौहाराको जंगल सफारीमा जाँदा त्यस्तै भीड भयो भने त्यहाँ जंगली जनावर पलायन हुन थाल्छन् । शान्ति खोज्न लुम्बिनी गएका बेला भीड र कोलाहल बढी भयो भने शान्ति मिल्दैन । हामीले हाम्रो पर्यटनलाई कसरी परिभाषित गर्ने र लाभ लिने ? सोचविचार गर्नुपर्छ । 

undefined

अहिले सगरमाथा क्षेत्रमा पर्यटक गइरहेका छन् । पर्यटकीय सिजनमा पदयात्रा र हिमाल चढ्न जानेको ओहोर–दोहोर निकै हुन्छ । उनीहरूले कर पनि तिरिरहेका छन् । तर, सगरमाथा क्षेत्रको विकास भने हुन सकेको छैन । विभिन्न क्षेत्रमा आउने पर्यटकलाई वर्गीकरण गर्ने हो भने साहसिक पर्यटनमा आउने करिब ३५ प्रतिशतभन्दा बढी छैनन् । धेरै त हाम्रो संस्कृति र सम्पदा हेर्न आउनेहरू छन् ।  सबै पर्यटक जोखिम मोलेर हिमाली क्षेत्रमा जानेभन्दा पनि नेपाल देश कस्तो रहेछ ? भनेर हेर्ने र परिवार, साथीहरूसँग रमाउने उद्देश्यले आएका हुन्छन् । ती सबै वर्गका पर्यटकलाई उत्तिकै महत्व दिनुपर्छ । 

पछिल्लो समय नेपालमा पनि ‘बिच टुरिजम’ भनेर नदी तथा ताल किनारमा पर्यटकलाई आकर्षित गर्ने अवधारणा आएको छ । ‘होम–स्टे’ पनि चल्दै आएको छ । ‘होम–स्टे’ लाई सकारात्मक रूपमा नै लिनुपर्छ । तर, सरकारको नियमन दायराभित्रचाहिँ आउनुपर्छ । आम्दानी गर्दा उनीहरूले पनि कर तिर्ने नियम बनाउनुपर्छ । अहिले उनीहरूले कर तिरेका छैनन् । पर्यटकलाई खुवाउने कुरामा गुणस्तर कायम गराउनुपर्छ । अहिले आएको ‘बिच टुरिजम’ भने धेरै लामो चल्ने देखिन्न । यस्तो टुरिजम खासगरी ¥याफ्टिङले तान्ने हो । जलविद्युत् आयोजनाले गर्दा ¥याफ्टिफ्ङ पनि संकुचित हुँदै गएको छ । समुन्द्रसँग जोडिएका देशहरूमा जस्तो ‘बिच’ को विकास गर्ने क्षमता पनि हामीसँग छैन । ‘बिच’ मा रमाउने भनेर फोहोर सबै पानीमा हाल्दिन थाल्यो भने त्यसले अर्को समस्या सिर्जना गर्छ । भर्खर सुरुवात भएकाले यसलाई सरकारले पनि व्यवस्थित गर्न जरुरी छ ।

अहिले ‘सेक्स टुरिजम’, ‘हेल्थ टुरिजम’ का कुरा पनि आउन थालेका छन् । नेपालमा ‘सेक्स टुरिजम’ को सम्भावना छैन, गर्न पनि हुँदैन । किनभने हाम्रो समाजले यस्तो कुरा रुचाउँदै । हाम्रो संस्कृति र धार्मिक परिवेशले पनि दिँदैन । यसले नेपालको पर्यटन उद्योगलाई झन् खस्काउने काम गर्छ । ‘हेल्थ टुरिजम’ (स्वास्थ्य पर्यटन) मा पनि चर्चा भएजस्तो ठूलो सम्भावना छैन । नेपालमा त्यस्तो ख्यातिप्राप्त स्वास्थ्यसंस्था र स्वास्थ्य प्रणाली पनि छैन । आँखा र दाँतसम्बन्धी उपचारमा दुई–चारवटा अस्पतालले राम्रो गरेकै आधारमा ठूलो संख्यामा मानिसहरू उपचार गर्न आउने अवस्था देखिन्न । त्यसमाथि नेपालमा राम्रो अवसर नदेखेर नर्सहरू पलायन हुने क्रम बढ्दो छ । साथै, शिक्षामा पनि त्यही समस्या छ । अध्ययनका लागि भन्दै हजारौं युवा विद्यार्थी बाहिरिएका छन् । शिक्षा, स्वास्थ्यमा विदेशी पर्यटक भित्राउन नेपालले निकै कसरत गर्नुपर्ने हुन्छ । 

केजीएच किन फरक ? 
काठमाडौं गेस्ट हाउसको फरकपन शब्दले भन्दा पनि अनुभूतिबाट सजिलै थाहा हुन्छ । यो होटलमा बस्न आउनेहरूले फरकपनको महसुस गर्दै आएका छन् । काठमाडौं गेस्ट हाउस सुरु भएको ५५ वर्ष भइसक्यो । चार वटा कोठाबाट सुरु गरेर अहिले १३० कोठा पुगेको छ । एक रुपियाँको कोठाबाट सुरु भएको यो होटलमा अहिले पाँच सय डलरसम्मका सुविधासम्पन्न कोठा छन् । यहाँ हाम्रो बगैंचा छ । आजकाल पाँचतारे होटलमा पनि बगैंचा पाउन कठिन छ । हामीले पैसा कमाउनेभन्दा पनि स्तरीय सेवालाई जोड दिँदै आएका छौं । पैसा कमाउने हो भने बगैंचा हटाएर भाडामा दिइन्थ्यो, जुन हाम्रो नीति होइन । लामो समयदेखि पर्यटन क्षेत्रमा भएकाले पर्यटनको महत्व बुझेका छौं । कुनै पाहुना आएर खर्च गर्दा उनीहरूलाई ‘भ्यालु अफ मनी’ को महसुस हुनुप¥यो । चाहे सय रुपियाँ खर्च गरोस्, चाहे एक लाख, ‘सही गरेछु’ भन्ने महसुस हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । केजीएच नेपालकै पुरानामध्येको एक होटल हो । ठमेलमा आउने हरेक मानिसलाई काठमाडौं गेस्ट हाउसले दिशानिर्देश गर्छ । केजीएचअन्तर्गतकै अन्य ८–९ वटा अरू होटल पनि सञ्चालनमा छन् । 

कर्पोरेट नेपालको दसौं वार्षिकोत्सवमा प्रकाशित जर्नल बुक ‘कर्पोरेट कल्चर’बाट 

Advertisement