विदेशी लगानीकर्तालाई फकाउँदै प्रधानमन्त्रीले भने- ‘नेपालमा दोहोरो करबाट मुक्त रहने व्यवस्था छ’

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको बताएका छन् । 

आईतवारबाट काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताए । 

Advertisement

उनले चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न आग्रह गरे । नेपालका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने बताए । राष्ट्रिय एवम् सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउने बताए । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको बताए । 

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको बताए । जलविद्युत उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिवद्धता जनाउने बताउनु भयो । उहाँले विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने बताए । विद्युत सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत निर्यात समझदारीमा हस्ताक्षर गरेको उल्लेख गरे । 

प्रधानमन्त्री दाहालले पर्यटन उद्योग अर्थतन्त्रको महत्वपूर्ण योगदानकर्ता रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताए । सूचना प्रविधि, कृषिमा लगानी गर्न आग्रह गरे । 

Advertisement

Advertisement