एमालेले ‘भोलेन्टियर्स नेशनल नेटवर्क’ नामक नयाँ दस्ता खडा गर्ने, समाजलाई सचेत गराउने

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन् । समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउन भन्दै महिला र पुरुष दुवैको यस्तो दस्ता बनाएर परिचालन गर्न चाहेको ओलीले बताए । 

एमालेले हालै सम्पन्न महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियरको रुपमा परिचालन गरेको थियो । आईतवार एमालेको मुख्यालयमा ओलीले महिला र पुरुष दुवैको नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए । 

Advertisement

त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने उनको भनाई छ । ओलीले भने, ‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन, विश्वासमा, भ्रममा होइन स्पष्टतामा, यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिईरहेका छौं । विभिन्न संगठनहरुमार्फत खासगरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरी रहेको जनमत यसलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौं । र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाईरहेको छ । यस प्रसंगमा स्वभाविक रुपमा स्वयमसेवा अत्यावश्यक हुन्छ ।’ 

उनले थपे, ‘ठूलो समूदाय भयो भने त्यहाँ जैविक क्रियाकलापहरु हुन्छन नै । ती जैविक क्रियाकलापहरुको व्यवस्थापन कसरी गर्ने ? त्यस्तो अवस्थामा त्यसलाई समग्रतामा व्यवस्थित बनाउने कुरामा स्वयमसेवाबाट मात्रै गर्न सकिन्छ । गोलमाल हुन नदिन, अस्तव्यस्त हुन नदिन, यता जाने कि उता जाने भन्ने भ्रम हुन नदिन, सहभागिताको कार्ड कहाँ पाईन्छ भन्दा यहाँ, नाम कहाँ लेख्ने भन्दा यहाँ, भित्र पस्ने ढोका कुन हो भन्दा यो, बस्ने सिट कुन हो भन्दा यो । बाहिर निस्कने ठाउँ कुन हो भन्दा यो, कता फर्किएर बस्ने भन्दा यता, यी सबै कुरा व्यवस्थित गर्नका लागि स्वयम सेवा चाहिन्छ ।’

ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गरे । 

Advertisement

Advertisement