डेढ करोडको लगानीमा बुलबुले तालमा मोटरबोट सञ्चालन, वार्षिक ५० लाख राजस्व संकलन गर्ने लक्ष्य

Advertisement

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यावसायिकीकरण, घरेलु उद्योग र पर्यटन नै हो, बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ । प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ ।’

Advertisement

उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नुपर्नेमा पनि जोड दिए । 

कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रुपमा लिने गरिएको उल्लेख गर्दै उनले यो सोच बदल्न जरुरी रहेको बताए । यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प भएको उनको भनाइ छ । उनले यसप्रकारको पर्यटनले सम्बन्धित गन्तव्यमा आर्थिक गतिविधि बढ्नुका साथै राजगारी सिर्जना हुने र विदेश जाने युवालाई स्वदेशमै रोक्न सकिने धारणा राखे ।

सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताइन् । उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपियाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपियाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिइन् । बुलबुले ताल क्षेत्रमा प्रवेशका  लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपियाँ लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरपालिकाले वार्षिक ५० लाख रुपियाँ राजस्व संकलन गर्ने अवस्था आएको समेत उल्लेख गरे । 

मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए । ‘मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउनुभएको छ,’ उनले भने । 

उनका अनुसार गत वैशाख १२ गतेयता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन् ।

‘अहिलेसम्म मोटरबोट सञ्चालन राम्रोसँग भइरहेको छ, तर तालमा पानीको सतह कम भएको र साँझ नपर्दै पार्क बन्द हुने भएको समस्या भएको छ,’ उनले भने, ‘तालमा पर्याप्त पानीको सुविधा उपलब्ध गराउन तथा पार्क अबेरसम्म खुला गर्ने विषयमा स्थानीय तहसम्म  हामीले पहल गरिरहेका छौँ, आशा छ चाँडै त्यो पनि पूरा हुनेछ ।’

बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपियाँबराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेको जनाएको छ । 

कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका  छन् । कम्पनीले यसका लागि मात्रै २५ लाख रुपियाँ लगानी भइसकेको ढकाल बताउँछन् । तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ । तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रुपियाँ शुल्क लिँदै आएको छ ।

Advertisement

Advertisement