सङ्खुवासभाको पहिरोमा पुरिएर एकको मृत्यु

Advertisement

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । 

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । 

Advertisement

उनीहरू निदाएका बेला पहिरो खसेको हो । 

जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

यता, खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति भएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याबिन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । 

वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनले जानकारी दिए ।
 

Advertisement

Advertisement