काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।
भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (ईपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गरेकोले आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आफ्नो पार्टीको कार्यक्रममा बुधबार भट्टराईले भारतसँगको समस्या समाधान गरौं भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरुलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको तर्क गरे । उनले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे ।
भट्टराईले भने, ‘भारतसँगको सन्धि, सम्झौताहरु जुन हुन, प्रवुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौं भन्ने त बाबुरामले नै शुरु गरेको हो । र अहिले त्यो हरायो । उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन् । जसले प्रवुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरांै र खुला सिमाना असमान सन्धि, सम्झौंता अंगे्रजका पालादेखि भए, त्यसलाई समयानुकुल बनाऔँ भन्ने चाहीँ दलाल । जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, तर दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहिँ राष्ट्रवादी ? भएपछि यो देश बन्छ ?’
उर्नले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रश्ताव समेत गरे । दलहरुले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उनको जिकिर थियो ।