दश महिनामा साढे ५२ अर्बको लगानी प्रतिवद्धता, तर ७ अर्बमात्रै भित्रियो  !

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा नेपालमा सात अर्ब चार करोड ७४ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आवको यसै अवधिको तुलनामा १४.४ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको यसै अवधिमा नेपालमा ६ अर्ब १६ करोड २९ लाख रुपियाँ विदेशी लगानी आएको थियो । गत आवभर भने सात अर्ब ७६ करोड ८६ लाख रुपियाँ विदेशी लगानी नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ । 

Advertisement

यसै अवधिमा नेपालबाट फिर्ता हुने लगानी रकम भने ६ करोड ९५ लाख रुपियाँ मात्रै रहेको छ, जबकी गत आवमा एक अर्ब ८० करोड ७३ लाख रुपियाँ लगानी फिर्ता भएको थियो । तर, यसपाली लगानी फिर्ता रकम झण्डै ९६.२ प्रतिशतले घटेको छ ।

पहिला भएको सम्झौता अनुसार समीक्षा अवधिमा सो बराबरको लगानी नेपाल भित्रिएको हो । समीक्षा अवधिमा नेपालमा वैदेशिक लगानी प्रतिवद्धता भने ५२ अर्ब ६५ करोड ३७ लाख रुपियाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । 

प्रत्यक्ष वैदेशिक लगानी, शेयर पर्चेच एग्रीमेन्ट र शेयर सबस्क्रीसन एग्रीमेन्ट लगायतको माध्यमबाट सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने प्रतिवद्धता यसमा समावेश छैन । नेपालमा बर्षेनी ठूलो रकममा विदेशी लगानी प्रतिवद्धता आउने गर्छ । तर, प्रतिवद्धता अनुसार लगानी भने नआउने तथ्यांकले पुष्टी गरेको छ । 

झन्झटिलो सरकारी प्रक्रिया, सरकारको न्यून पहल, कम्जोर बातावरण लगायतका कारण लगानीकर्ताहरुले सम्झौता अनुसार लगानी नगर्ने गरेको विज्ञहरु बताउँछन् । प्रतिवद्धताअनुसार लगानी भित्र्याउन सरकारले लगानीको बातावरण राम्रो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

Advertisement

Advertisement