काठमाडौं । सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिँदा भएको भ्रष्टाचारसम्वन्धी मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ भने अरुलाई भने दोषी ठहर गरेको छ।
बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा अर्याललाई मात्रै सफाइ दिएको हो ।
यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने दोषी ठहर गरिएको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने जनाइएको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अर्यालले सफाई पाएका हुन् । सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि निलम्बनमा परेका अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो । अख्तियारले गएको असार ९ माअर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अर्याललाई सञ्चार सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको सञ्चालक समितिको अध्यक्षको हैसियतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । यससम्वन्धी भ्रष्टाचारमा आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेशकुमार शाक्य, उपमहानिर्देशक टंक पाण्डेय, निर्देशक गणेशविक्रम शाही, शाखा अधिकृत रवीन्द्र पौड्यालविरुद्ध पनि मुद्दा लगाएको थियो ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालिन निर्देशक सफल श्रेष्ठ, तत्कालिन खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम र प्रिन्टसेल प्रालिका निर्देशक एवं सञ्चालक केशव शर्मा विरुद्ध पनि मुद्दा दायर भएको थियो ।
आन्तरिक राजस्व विभागले सुरक्षण मुद्रण केन्द्रमा अन्तःशुल्कका स्टिकर छाप्ने निर्णय गरी सम्झौता गरेको थियो । उक्त सम्झौता विपरीत तेस्रो पक्षलाई स्टिकर छाप्न दिएर अनियमितता गरेको अख्तियारको आरोप थियो ।