आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनः एआईमार्फत अतिथि र सहभागीलाई स्वागत

Advertisement

काठमाडौं । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । 

डिजिटल मिडिया फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो । 

Advertisement

आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिए । लगत्तै एआई प्लाटफर्म च्याट जिपिटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनसहित अतिथिहरुलाई  मन्तव्यमार्फत स्वागत गर्यो । मन्त्री पुनसहित हलमा सहभागीले नयाँ प्रयोगबाट उत्साहित हुँदै ताली बजाए । 

त्यसलगत्तै एआईकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारियो । भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोता झैं लाग्ने टाई सुटमा ठाँटिएका एक युवक (कृत्रिम वौद्धिकता) सम्मेलनको आवश्यकता, एआईले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा प्रकाश पारेका थिए । 
उक्त प्रयोगबारे कार्यक्रमका सहभागीले खुसी व्यक्त गरेका थिए । 

कार्यक्रमका वक्तासमेत रहेका आमसञ्चार एवं पत्रकारिताका प्राध्यापक डा. भानुभक्त आचार्यले उक्त प्रयोगले एआईले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए । 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले एआईको प्रयोगले तथ्य पहिचान, परीक्षण र प्रस्तुतिमा पत्रकारिता क्षेत्रले लाभ लिन सक्ने सम्भावना देखिएको उल्लेख गरे । तर, एआईको प्रयोगमा पत्रकारले हम्मेसा होसियारी अपनाउनुपर्ने उनको प्रतिक्रिया थियो ।

Advertisement