एमालेलाई गगन थापाको प्रश्न– सरकारमा बस्ने, बजेटको स्वामित्व नलिने ?

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन् । 

शनिवार नेपाली काँग्रेस नागार्जुन नगरकार्यसमितिको कार्यक्रममा उनले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो ? भन्ने नै थाहा नभएको बताए । प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको थापाको भनाई छ । 

Advertisement

देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताउँदै उनले विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको बताए । उनले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाउनुभएको बताए । 

प्रधानमन्त्री दाहालले जसरीपनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको थापाले बताए । उनले एमालेले बजेटको स्वामित्व नलिएको बताउँदै एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडी बढेको बताए । 

थापाले भने, ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलिपनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसावकिताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मुलत्ः एमाले र माओवादी पार्टीहरुको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आएपनि बन्ने । उता आएपनि बन्ने । बनिराख्ने भन्ने छ ।’ 

उनले थपे, ‘त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिगँ्रदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने योभन्दा एक वर्ष अगाडी उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन । तर त्यो राम्रो नभएको हिसावकिताव उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, काँग्रेसको मानिसहरु थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन । नेकपा(एमाले) त सरकारमा छ, छैन ? सरकारमा छ पनि । छैन पनि । सरकारमा उसले जुनियर मन्त्रीहरु पठाएको छ । हेर्दाखेरी मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त बजेटमा कसरी पन्छिएको ? सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ । बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनुहुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा (एमाले) सरकारमा रहिरहन चाहान्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन ।’ 

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरुले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरु जिम्मेवारी अनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको बताए । उनीहरुले समस्याको समाधान गर्ने भन्दापनि चटक गरिरहेका थापाले बताए । 

Advertisement

Advertisement