शर्माले संसदमा पेश गरे मलेसियाबाट कसैलाई पक्रिएर ल्याउन सुपूर्दगी सन्धी नचाहिने प्रमाण

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको ‘लोकेशन’ पत्ता लागेर पनि पक्राउ किन गरिएन ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । 

आईतवार संसद बैठकमा उनले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो ? भनि प्रश्न गरे । 

Advertisement

शर्माले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटिपन के हो ? भन्दै भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि ? भनेर आशंका समेत व्यक्त गरे । 

उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको चार दिन बितिसकेको भन्दै सरकारले कहिले जिबि राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताए । शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटिपन हो ? या भगाउने नियत हो ?’ 

उनले थपे, ‘देशलाई जीवीको लोकेशन चाहिएको होइन । देशलाई जीवी राई चाहिएको हो । अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? यो प्रश्न गर्न चाहान्छु । गृहमन्त्रीले लोकेशन पत्ता लागिसक्यो भनेको चार दिन भयो । लोकेशन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ ? लोकेशन पत्ता लागिसकेको भनेको जीवी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेशन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जीवी राईलाई हाजिर गराउँदैछ ? देशलाई जीबीको लोकेशन चाहिएको होइन । जीबी राई चाहिएको हो ।’

नेता शर्माले मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने बताए । चितवनको राजकुमार चेपाङलाई २०७१ सालमा तत्कालिन सरकारले मलेसियाबाट झिकाएको उदाहरण दिँदै उनले गृहमन्त्रीले चाहने हो भने राईलाई पनि झिकाउन समस्या नरहेको बताए ।  

Advertisement

Advertisement