देशभरको माहौल बुझेपछि गणतन्त्रवादीबाट गणतन्त्रविरोधीमा रुपान्तरण हुने रास्वपाको संकेत

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्रवादी आफ्नो विचारधारालाई रुपान्तरण गरेर गणतन्त्रविरोध बन्न संकेत दिएको छ । 

सो पार्टीका महामन्त्री डा. मुकुल ढकालले देशले अब कुनै पनि शर्तमा प्रदेशहरु स्वीकार गर्न नसक्ने बताएका छन् । देशभरको माहौल बुझेर फर्किएपछि बुधबार साँझ आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै अहिलेकै शैलीमा चले पार्टीको अस्तित्व समाप्त हुने कुरा सभापतिलाई बताएको जानकारी दिए । 

Advertisement

पछिल्लो समयमा देशभर गणतन्त्रविरोध भावना बढ्दै जानुका साथै गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्रप्रति आकर्षण बढ्दै गएको देखिन्छ । अहिलेको व्यवस्था र संविधानप्रति जनताको वितृष्ण बढ्दा ठूला दल र नेताहरु पनि चिन्तित बन्दै गएका छन् । 

महामन्त्री मुकुल ढकालले रास्वपा गम्भीर बिरामी भएको भन्दै सर्जरी गर्नुपर्ने बताए । तत्काल सर्जरी नगरे २०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निश्कर्षसहितको प्रतिवेदन आफूले बुझाएको बताउँदै उनले भने  ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ ।’ 

इलामको उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव संकलन गरेर प्रतिवेदन बुझाउन महामन्त्री ढकाललाई जिम्मा दिएको थियो । विभिन्न ३८ जिल्लामा तीन हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका ढकालले रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी रहेको बताए ।

उनले अहिले नै चुनाव भए रास्वपाले अहिलेकै सिट जोगाउन नसक्ने बताउँदै २०८४ मा एक्लै बहुमत होइन, राष्ट्रिय पार्टी बन्न पनि कठिन हुने समीक्षा गरेका छन् । ढकाल भन्छन्, ‘मेरो प्रतिवेदन अनुसार अहिलेको अवस्थामा रास्वपा राष्ट्रिय पार्टी मात्र बन्न सक्छ । प्रत्यक्षमा केही सिट मात्र जित्न सक्छ । यही गतिमा तल गइराख्यो भने त्यो अवस्था पनि नरहन सक्छ ।’

समीक्षा यात्राका क्रममा पार्टीमा झाँगिएको विकृतिको आभास भएको भन्दै उनले भने, ‘त्यो अनुभूतिबाट अहिले नै झसंग भएर हामी त्यसबाट छुटकारा पाउनुपर्छ ।’ ‘लाजले, वा हिनताबोधले पार्टी बिरामी छ भन्ने स्वीकार गर्न सकिएन, घरमै राखेर उपचार गर्दै लग्यौं, अस्पताल लगेनौं भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ’ उनको तर्क छ । 

पार्टीले किन्तु परन्तु नभनी प्रदेश खारेजीको एजेण्डा उठाउनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने भन्दै ढकालले जनताको माग प्रशासन सुधार मात्र भएको तर पुराना पार्टीहरुले त्यसलाई बंग्याएर प्रदेश संरचना बनाएको बताए । 

उनले भने, ‘विगतमा जुनसुकै कुरा लेखे पनि अबका दिनमा पार्टीले किन्तु परन्तु केही नलगाई प्रदेश खारेज गर्नपर्छ भन्ने पक्षमा उभिनुपर्छ । राजसंस्थाको विषयमा मौन बसे पनि ढकालले पार्टीको गणतान्त्रिक विचारधारामा पुनरावलोकन जरुरी रहेको संकेत गरे । 

तर ढकालले सरकार भने तत्काल छाड्न नहुने र सरकारमा रहनुको औचित्य पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘भुमरी मानौं वा गोला मानौं त्यसमा फसिसकेको अवस्था छ, जुन ढोकाबाट पस्यो त्यही ढोकाबाट निस्कने छुट छैन, सरकारमा रहनुको औचित्य पुष्टि गर्नुपर्छ ।’ ढकालले आफूले बुझाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताए । 

पार्टीको हितका लागि अहिलेको स्वतन्त्र मेयर बालेन शाह, गोपाल हमालसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेका महामन्त्री ढकाल लामिछानेका विश्वास पात्र मानिन्छन् । लामिछानेको सुझावमा उनले यस खालको प्रतिवेदन र सुझाव दिएको अनुमान गरिएको छ ।  

Advertisement