काठमाडौं । असार मसान्त नजिकीदै गर्दा सरकारले गर्ने खर्च थप उच्च हुन थालेको छ ।
सोमबार एकै दिन सरकारले १४ अर्ब १८ करोड ६७ लाख रुपियाँ भुक्तानी गरेको छ । सम्भवत यो चालु आवको दैनिक भुक्तानीमा हालसम्मकै उच्च हो ।
सोमबार चालुतर्फ मात्रै १३ अर्ब ३२ करोड ८१ लाख रुपियाँ खर्च भएको छ । पुँजीगततर्फ भने ८५ करोड ८६ लाख रुपियाँ खर्च भएको महालेखा नियन्त्रणकको कार्यालयको तथ्यांकले देखाएको छ ।
असार मसान्तमा आर्थिक बर्ष सकिने हुँदा यो बेला खर्च गर्ने दवाव हुन्छ । असारसम्म खर्च गर्न सकिएन भने बजेट फ्रिज पनि हुन्छ । सोही दवाबमा सरकारले असन्तुलित ढंगले बजेट गर्ने थालेको देखिन्छ । गत जेठसम्म सरकारको न्यून खर्च हुँदा पनि असारमा बढी खर्च गर्नुपर्ने दवाव छ ।
यही दवावले बिगतका बर्षहरुमा पनि असारमै आएर असन्तुुलित ढंगले बजेट खर्च हुने गरेको थियो । त्यो प्रवृति चालु आर्थिक बर्ष २०८०–८१ को असार महिनमामा पनि दोहोरिएको छ । चालु आवमा असार लागे देखि नै सरकारले उच्च मात्रामा खर्च गर्न थालेको थियो ।
गत असार ५ गते एकै दिन १२ अर्ब ५८ करोड ३० लाख रुपियाँ खर्च भएको थियो । यसैगरि असार १० गते सरकारले १० अर्ब ६३ करोड ५८ लाख रुपियाँ खर्च गरेको थियो । अहिले सोमबार आएर एकै दिन १४ अर्ब १८ करोड रुपियाँ भन्दा बढी खर्च भएको देखिन्छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असार १ गते १४ करोड ९५ लाख रुपियाँ मात्रै खर्च भएको थियो । त्यसपछि असार २ गते भने झण्डै तीन अर्ब रुपियाँ खर्च भएको देखिन्छ ।
असार ३ गते भने नौ करोड २६ लाख रुपियाँ मात्रै चालु खर्च भएको छ । त्यसपछि असार ४ गते भने तीन अर्ब ५१ करोड ५३ लाख रुपियाँ, असार ५ गते १२ अर्ब ५८ करोड ३० लाख रुपियाँ, असार ६ गते तीन अर्ब ७१ करोड ४२ लाख रुपियाँ, असार ७ गते ६ अर्ब २४ करोड रुपियाँ र असार ८ गते भने ४७ करोड १ लाख रुपियाँ खर्च भएको थियो ।
यसैगरी असार ९ गते पाँच अर्ब ५२ करोड ९० लाख रुपियाँ, असार १० गते १० अर्ब ६३ करोड ५८ लाख रुपियाँ, असार ११ गते पाँच अर्ब ५६ करोड ९५ लाख रुपियाँ, असार १२ गते दुई अर्ब ४६ करोड ६५ लाख रुपियाँ, असार १३ गते तीन अर्ब ६४ करोड ५३ लाख रुपियाँ, असार १४ गते तीन अर्ब ७० करोड १८ लाख रुपियाँ र असार १५ गते ३५ करोड ६ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
यसैगरी असार १६ गते ६ अर्ब ३५ करोड ३९ लाख रुपियाँ र असार १७ गते अर्थात् सोमबार १४ अर्ब १८ करोड ६७ लाख रुपियाँ खर्च भएको देखिएको छ ।
जेठ मसान्तसम्म सरकारको खर्च नै न्यून थियो । सरकारले चालु आवमा १७ खर्ब ५१ अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य लिएको थियो । त्यसमा जेठ मसान्तसम्म ११ खर्ब ८१ अर्ब २९ करोड रुपियाँ मात्रै खर्च भएको थियो, जुन लक्ष्यको ६७।४५ प्रतिशत हो । यसरी पहिला नै न्यून खर्च हुँदा असारमा बढी खर्च गर्नुपर्ने दवाव सिर्जना भएको छ । त्यसले मनपरी ढंगले खर्च गर्नुपर्ने बाध्यता भएको देखिन्छ ।
असार १७ गतेसम्म भने सरकारको कूल खर्च १२ खर्ब ६३ अर्ब ४८ करोड ६१ लाख रुपियाँ रहेको छ, जुन लक्ष्यको ७२।१५ प्रतिशत हो ।
हालसम्म चालु खर्च भने ८ खर्ब ८९ अर्ब १३ करोड २८ लाख रुपियाँ, पूँजीगततर्फ एक खर्ब ४६ अर्ब ७० करोड २९ लाख र वित्तीय व्यवस्थातर्फ दुई खर्ब २७ अर्ब ६५ करोड ४ लाख रुपियाँ खर्च भएको छ ।
तथ्यांकअनुसार चालुतर्फ लक्ष्यको ७७.८७ प्रतिशत, पुँजीगत तर्फ लक्ष्यको ४८.५७ प्रतिशत र वित्तिय व्यवस्था तर्फ लक्ष्यको ७४.०४ प्रतिशत खर्च भएको छ । चालु आव सकिन दुई हप्ता बाँकी हुदाँ पनि पुँजीगत खर्च लक्ष्यको आधा पनि पुगेको छैन । यसले चालु आवमा विकास निर्माणको काम सुस्त भएको र विकास निर्माणका काम भएपनि सरकारले भुक्तानी दिन नसकेको संकेत गरेको छ ।
यस अवधिमा सरकारको आम्दानी भने ९ खर्ब ७६ अर्ब ४४ करोड रुपियाँ रहेको छ । आम्दानीबाट अपुग भएको रकम सरकारले ऋण मार्फत व्यवस्थापन गर्दै आएको छ । अहिले सरकारको बजेट घाटा दुई खर्ब ८७ अर्ब ४ करोड ६१ लाख रुपियाँ रहेको छ ।