सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै हुनुभएनः नेता केसी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताएका छन् । 

बुधवार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले २०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताए । 

Advertisement

केसीले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको पछिल्लो सहमतिले देशलाई स्थिर सरकार दिने आशा देखाएको दावी गरे  । 

आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामुहिक मिसनको रुपमा लिएर जानुपर्ने बताउँदै सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै नभई जनतामा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नेगरी हुनुपर्ने बताए । 

केसीले भने, ‘स्थिर सरकार यसले दिन सक्छ कि भन्ने आशा र त्यस्तो स्थिर सरकारबाट देशमा अहिले देखिएको निराशा, टुटेका आशाहरुलाई फेरि नयाँ आशा र विश्वासका साथ वातावरण निर्माण गर्दै अहिलेको देशको वस्तुस्थितिमा नयाँपन दिन सक्ने जिम्मेवारी हामी सबैमा परेको छ । कांग्रेस ठुलो पार्टी भएकाले नेतृत्व जसले गरेपनि त्यो दायित्व हाम्रो रहन्छ ।  कमजोरीहरु के–के छन् ? व्यवहारिक रुपले देखिएका अलमलहरु के छन् ?’ 

उनले थपे, ‘अहिले समय सापेक्ष जनताको भावना र दृष्टिकोण के छ ? त्यसलाई प्रतिनिधित्व हुने गरेर संविधान संशोधन अहिलेको आवश्यकताको रुपमा चारैतिरबाट आइरहेको छ । ०७२ को संविधान नेपाली जनताको सर्वोच्चताको प्रतिनिधित्व गर्दै संविधानसभामार्फत निर्मित यो संविधान । यो पनि असफल हुने स्थिति आयो भने देशमा दुर्भाग्यपूर्ण परिस्थिति आउँछ । त्यसकारण यो संविधान भित्रबाट संविधान संशोधन गर्ने र नयाँ निकास दिनेतिर अहिले राष्ट्रले सोच्नुपर्ने आवश्यकता छ । आर्थिक अवस्थामा देखिएको अनियमिता, भ्रष्टाचारको सीमा नाघेको परिस्थिति छ । र आर्थिक सुधारका गतिविधिलाई सामुहिक मिसनको रुपमा यो सरकारले लिएर जानुपर्छ । सरकार परिवर्तन को मन्त्री हुने ? को प्रधानमन्त्री हुने भन्दापनि अहिले आम रुपबाट जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नको निम्ति दृढताका साथ हामी अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

केसीले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसदको प्रतिपक्ष भुमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जिवन्त राख्न सक्नुपर्ने बताए । 

Advertisement

Advertisement