कर्णालीमा कृषि उत्पादन र क्षेत्रगत कृषि कर्जा दुवै घट्यो

Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन् ।

प्रदेश सरकारले कृषि तथा पशुपक्षीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान वितरण गर्दै आएको छ । सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालयमातहतका निकाय र स्थानीय तहमार्फत बर्सेनि विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका मन्त्रायका सूचना अधिकारी एवं कृषि अधिकृत रामभक्त अधिकारीले जानकारी दिए । 

Advertisement

तीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिए पनि कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन अनुसार कृषि क्षेत्रमा सरकारी लगानी बढेको पाइए पनि उत्पादन भने घट्दै गएको छ ।

‘कर्णालीको कृषिबालीको उत्पादन ३.५३ प्रतिशतले ह्रास आई ११ लाख ५१ हजार चार सय ३३.६१ मेट्रिकटन कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त उत्पादन ८.७६ प्रतिशतले वृद्धि भएको थियो,’ राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिमा कर्णालीको खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०५ प्रतिशतले ह्रास आई आठ लाख ३५ हजार ६ सय ९५ मेट्रिकटन कायम भएको पाइएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बताए । गत आवमा यस्तो उत्पादन १०.६२ प्रतिशतले वृद्धि भएको थियो । 

समीक्षा अवधिमा प्रमुख कृषिमध्ये धान बालीको उत्पादन १२.०४ प्रतिशतले वृद्धि भई एक लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन २.०५ प्रतिशतले वृद्धि भएको थियो । गत आवको सोही अवधिमा ९.२१ प्रतिशतले वृद्धि भएको मकै उत्पादन ७.६१ प्रतिशतले घटेको छ । गहुँ उत्पादन गतको तुलनामा ०.४३ प्रतिशतले वृद्धि भई एक लाख ८८ हजार तीन सय २४ मेट्रिकटन पुगेको कोइरालाले जानकारी दिए । 

कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत, १८.९८ र २५.६९ प्रतिशतले ह्रास आएको प्रतिवेदनको तथ्याङ्कले देखाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिमा उक्त बालीको उत्पादन क्रमशः ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भएको थियो । 

गत आवमा १.२४ प्रतिशतले वृद्धि भएको दलहन उत्पादन समीक्षा अवधिमा ७.५६ प्रतिशतले घटेर १७ हजार आठ सय ७९ मेट्रिकटन कायम भएको छ । कर्णाली प्रदेशमा तेलहन उत्पादन ४६.१९ प्रतिशतले वृद्धि भएको छ भने गत आवको सोही अवधिमा यस्तो उत्पादन ४.०७ प्रतिशतले वृद्धि भएको थियो ।

घट्यो क्षेत्रगत कृषि कर्जा

प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आर्थिक वर्षको तुलनामा १७.५७ प्रतिशतले कमी आई रु चार अर्ब ५२ करोड १९ लाख पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

‘कुल कृषि कर्जामध्ये सबैभन्दा बढी सनपाट शीर्षकमा रु १० लाख ३० हजार पुगेको छ । सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । प्रदेशमा प्रवाहित कूल कृषि कर्जामध्ये सबैभन्दा धेरै रु दुई अर्ब ३७ करोड ५२ लाख सुर्खेतमा र सबैभन्दा कम रु ९२ करोड १२ लाख मुगुमा प्रवाहित भएको छ,’ राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख कोइरालाले भने । 

Advertisement

Advertisement