म अझै रास्वपाको महासचिव हो, रवि लामिछाने क्लबले मात्रै कारवाही गरेको होः ढकाल

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन् । 

बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लवबाट मात्रै निष्काशन गरिएको जिकिर गरे । आफू अहिले पनि रास्वपाको महामन्त्री नै रहेको ढकालको दावी छ । 

Advertisement

उनले सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरुले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने ढकालले माग गरे । 

उनले भने, ‘म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लवबाट मात्रै निस्काशन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्नसक्छु । रास्वपालाई रवि लामिछाने क्लवको रुपमा कब्जा गरिएको छ ।’ 

ढकालले थपे, ‘पार्टी एलिटको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिटको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीबाहक साथीहरुले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौँ ।’ 

सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको सुनाउँदै उनले नैतिकताको छुट दिने कि राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको बताए । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले अब धारणा बनाउनुपर्ने उनले बताए । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने ढकालको तर्क छ । 

संसदको छानबिन समितिले रवि लामिछानेमाथिको छानविन नपुग्ने ढकालले बताए । उनले रविको दुई वटा पासुपोर्ट रहेको भन्दै पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताए । 

ढकालले आफूलाई राजनीतिक दलको मूल्यमान्यता र पार्टीको विधानविपरित गएर कारवाही गरिएको भन्दै उपसभापतिबाट कारवाहीको पत्र दिन अवैधानिक रहेको बताए । 

Advertisement

Advertisement