प्रधानमन्त्री दाहाल पदमुक्त, पाएनन् विश्वासको मत

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै उनी पदमुक्त भएका हुन् । 

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीको सहमति भएको छ । 

Advertisement

कुल २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर आज भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत मात्र पर्यो भने विपक्षमा १९४ मत पर्यो । मत दिन्न भन्नेमा १ मत पर्यो । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

२०७९ पुस १० मा प्रधानमन्त्री भएका दाहालले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा २६८ मत पाए पनि पटक पटक विश्वासको मत लिने क्रममा उनको मत घट्दै गएको थियो । दोस्रो पटक २०७९ चैत ६ मा १७२ मत पाए भने तेस्रो पटक २०८० फागुन ३० र चौथो पटक गत जेठ ७ मा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

साना दलहरूले समेत साथ नपाएका दाहाललाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

Advertisement

Advertisement