बिद्रोह गर्ने पौडेलको चेतावनीपछि बर्तौलालाई अर्थमन्त्री बनाउने तयारीबाट पछि हटे ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका महेश बर्तौलालाई अर्थमन्त्री बनाउने योजनाबाट केपी ओली पछि हटेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका बिष्णु पौडेलले बर्तौलालाई अर्थमन्त्री बनाए पार्टीमा विद्रोह गर्ने चेतावनी दिएपछि ओली अन्तिम समयमा पछि हटेका हुन् । 

आफूहरुको दीर्घकालिन प्रतिस्पर्धी नेपाली कांग्रेसको समर्थनमा आज आइतबार प्रधानमन्त्री हुन लागेका ओलीले अर्थमन्त्रीमा आफ्नो विश्वासपात्र बर्तौलालाई अर्थमन्त्री बनाउन चाहेका थिए । तर कनिष्टलाई अर्थमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी दिने कुरा आफूहरुलाई स्वीकार्य नभएको भन्दै पौडेल पक्षधर समूहका नेताहरुले ओलीलाई त्यस्तो आत्मघाती काम नगर्न चेतावनी दिएका थिए । पूर्वराष्ट्रपति समेत रहेकी एमाले नेतृ विद्या भण्डारी पनि बर्तौलाई अर्थमन्त्री बनाउने कुराको विपक्षमा उभिएकी छन् । 

Advertisement

पार्टीभित्रै असन्तुष्टि बढेपछि अन्तिम समयमा पौडेललाई नै उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन ओली तयार भएका छन् । पौडेललाई उपप्रधानमन्त्री दिनुपर्ने भएपछि कांग्रेसबाट पनि एक जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बाध्यता ओलीलाई सिर्जना भएको छ । उनी यसअघि कसैलाई पनि उपप्रधानमन्त्री बनाउने पक्षमा थिए । पौडेललाई रोक्न नै पार्टीभित्र उपप्रधानमन्त्री नदिने निर्णय गरिए पनि अन्तरद्धन्द्ध मिलाउन अन्तिम समयमा आफ्नै प्रस्तावबाट ओली पछि हटेका छन् । 

स्रोत भन्छ– ‘महेश बर्तौलालाई अर्थमन्त्री बनाएर जाने तयारीमा अध्यक्षज्यू हुनुहुन्थ्यो । तर पार्टीभित्र सिनियर नेताहरु हुँदाहुँदै कनिष्टहरुलाई अघि बढाउने कुराले गर्दा असन्तुष्टिहरु आयो । त्यही भएर मिलाएर लाने कुरा भएको छ ।’ पार्टीमा धेरै लामो योगदान र अनुभव भएका नेता हुँदाहुँदै ओलीले बर्तौला, पदम गिरी, योगेश भट्टराईलगायतका युवाहरुलाई बढी प्रशय दिएको र पूराना नेताहरुलाई पेल्ने काम गरेकोले असन्तुष्टि र आक्रोस बढ्दै गएको थियो । 

ओलीले योगेश भट्टराईलाई सूचना तथा सञ्चारमन्त्री बनाउने तयारी गरेका छन् । यसअघिको मन्त्रिमण्डलमा उनले पदम गिरीलाई कानुनमन्त्री बनाएर पठाएका थिए । सहकारी प्रकरणसम्वन्धी छानविन गर्न गठन गरिएको उच्चस्तरीय संसदीय समितिमा कनिष्ट सूर्य थापालाई संयोजक बनाएकोमा पनि एमालेका धेरै नेतालाई चित्त बुझेको छैन् । महिलाहरुसँग अनैतिक सम्वन्ध राखेको भन्दै विवादमा परेका भक्तपुर एमालेका नेता महेश बस्नेतलाई पनि जोगाउन ओली सफल भएका छन् । 

नेता बर्तौलाले आफूलाई अर्थमन्त्री बजाउने तयारीका कारण पार्टीभित्र किचलो भएको कुरा स्वीकार नगरे पनि आफ्नो नाम अर्थमन्त्रीको रुपमा चर्चामा आएको कुरा भने स्वीकार गरे । 

उनले तत्काल आफू मन्त्री नभए पनि अर्को पटक भने मन्त्री हुन संभावना रहेको स्वीकार गरे । बर्तौलाले भने, ‘अर्थमन्त्रीमा त्यस्तो विवाद केही छैन् । अहिलेलाई मेरो मन्त्री बन्ने पनि सोच छैन् । कुरा चाहिँ चलेको हो । अर्को पटक सरकार परिवर्तन भएपछि त्यसको संभावना छँदैछ नि ।’ 

Advertisement

Advertisement