कुवामा डुबेर दिदीबहिनीको मृत्यु, बाढीपहिरामा १०८ जनाले ज्यान गुमाए

Advertisement

काठमाडौं । स्याङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए । 

Advertisement

लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् । घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू भएको प्रहरी प्रवक्ता रानाले बताए । 

बाढीपहिरामा परी एक सय आठको मृत्यु
यता, अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् ।

यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ  । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

Advertisement