बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थाले

Advertisement

काठमाडौँ । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् ।

यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।   

Advertisement

आज केहीबेर अघि यहाँ आएका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिएका थिए ।   

परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न निर्देशन दिनुभयो । साथै नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन पनि उनले निर्देशन दिए ।    

परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक बाहिर ननिस्कन विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ ।

सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले हिजो जनाएको थियो । 

बङ्गलादेशबाट तीन सय ४० नेपाली विद्यार्थी काँकडभिट्टा आइपुगे
यता, पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए ।  

“माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ”, अध्यागमन प्रमुख पनेरुले भने, “आन्दोलनका कारण हिंसा बढेपछि उहाँ पनि नेपालीसँगै यहाँ आउनुभयो । भारतीय अध्यागमन अधिकारीले पनि उहाँलाई नेपाल जान अनुमति दिएका उहाँले हामीलाई जानकारी दिनुभयो ।”

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।

ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिए । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउनसमेत भनिएको उनले बताए ।   

बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेका अध्यागमन प्रमुख पनेरुले बताए ।  

राजधानी ढाकाबाट २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका भुषण पोखरेल ‘कफ्र्यू’का कारण स्वदेश फर्किन नसकिरहेको उनका बुबा जयधर्म पोखरेलले बताए ।  “धेरै नेपाली विद्यार्थी कफ्र्यूका कारण होस्टेलबाट सडकमा निस्कने अवस्था छैन”, छोरालाई उद्धृद गर्दै उनले भने, “ढाकास्थित नेपाली दूतावासले सुरक्षा र प्रहरीको निगरानीमा एयरपोर्टसम्म पु¥याउने व्यवस्था गरिदिए धेरै विद्यार्थी घर फर्किने थिए ।”

बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’ लगायत समाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको अभिभावक पोखरेलले जानकारी दिए । टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या देखिने गरेको उनले बताए । 

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प रहेका छन् । रासस 

Advertisement

Advertisement